उत्तरगङ्गामा विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कल गरिँदै — OSNepal

उत्तरगङ्गामा विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कल गरिँदै

LC (KTM) January 07, 2023 0

रुकुम (पूर्व), -रुकुम(पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरुको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । गाउँपालिकाले तथ्याङ्क सङ्कलनकर्ता लाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक÷एकजना सङ्कलनकर्ता परिचालन गरेको छ ।

गाउँपालिका शिक्षा शाखाप्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरुको विवरण सङ्कलन गर्न लागेको हो । सङ्कलनकर्ताहरुले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर व्यक्तिको विवरणसहित पेसा, व्यवसाय, जनसङ्ख्या लगायतको विवरण सङ्कलन गर्ने उहाँले बताउनुभयो ।

यो कार्यक्रमबाट स्थानीय पाठ्यक्रम निर्माणमा टेवा पुग्नाका साथै विद्यालयबाहिर रहेका बालबालिकाको यकिन तथ्याङ्क आउने र उनीहरुलाई विद्यालयमा फर्काएर टिकाउने कार्यक्रम बनाउन सहज हुने अपेक्षा राखिएको शिक्षा शाखाप्रमुख खड्काको भनाइ छ ।

त्यस्तै यसबाट निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन कार्यक्रम तर्जुमा गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ । जिल्लालाई नै साक्षर घोषणा गरिएको भए पनि सबै गाउँपालिकावासी साक्षर नभएको अवस्थामा उनीहरुको यकिन तथ्याङ्क सङ्कलन गर्न लागिएको गाउँपालिकाले जनाएको हो । साथै यसबाट गाउँपालिकाको वास्तविक जनसङ्ख्या पनि पत्ता लाग्ने गाउँपालिकाको विश्वास छ ।
यी सबै विवरण स्थानीय पाठ्यक्रममा समावेश गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कक्षा १ र ६ मा लागू हुने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरिसकेको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर