कोरोनाको तेस्रो लहर सुरु भए सबैभन्दा धेरै बालबालिका प्रभावित हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन्। देशमा ३५० को हाराहारीमा मात्रै बाल चिकित्सक छन् । त्यसमाथि बालबालिकाको उपचारमा प्रयोग हुने एनआइसियू, पिआइसियू र भेन्टिलेटर करिब ३४० छन् । यी उपकरण चलाउने दक्ष जनशक्ति झन् कम छ।
कोरोना संक्रमणले बालबालिकालाई प्रभावित बनाउने क्रम बढिरहेको छ । तर, उनीहरूलाई संक्रमणबाट जोगाउने र क्षति कम गर्ने सम्बन्धमा सरकारको पूर्वतयारी भने सुस्त रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र मञ्जु टेलरले लेखेकी छन्।
कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा र दोस्रो लहरमा युवाहरू बढी संक्रमित बनेका छन् । तेस्रो लहरको संक्रमण बालबालिकाकेन्द्रित हुने विज्ञहरूको भनाइ छ । संसारभर नै १८ वर्षमुनिका बालबालिकामा कोरोनाविरुद्धको खोप लगाइएको छैन । त्यसकारण पनि तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने विज्ञहरूले बताएका छन्।
नेपालमा त्यसै पनि बालरोग विशेषज्ञको संख्या अत्यन्त न्यून छ । त्यसमाथि अस्पतालहरूमा एनआइसियू, पिआइसियू र भेन्टिलेटरलगायतका उपकरण पनि पर्याप्त छैनन् । स्वास्थ्य मन्त्रालयसँग त बालरोग विशेषज्ञ र बालबालिकाको उपचारमा आवश्यक पर्ने एनआइसियू, पिआइसियू, भेन्टिलेटरलगायतका उपकरणहरू कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन ।
१८ वर्षमाथि उमेर समूहले प्रयोग गर्ने आइसियू÷भेन्टिलेटर बालबालिकाका लागि प्रयोग गर्न मिल्दैन । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर एमबिबिएस गरेका २४ हजार आठ सय १४ चिकित्सक छन् । तीमध्ये विशेषज्ञता हासिल गरेका चिकित्सकको संख्या सात हजार ६ सय ९१ छन् । बालरोग विशेषज्ञको संख्या भने करिब साढे तीन सयको हाराहारीमा मात्रै छ ।
‘नेपाल पेडियाट्रिक सोसाइटीमा पुगनपुग तीन सय चिकित्सक दर्ता छन् । करिब ५० जनाको संख्या संस्थामा आबद्ध नभएका चिकित्सक होलान्,’ सोसाइटीका अध्यक्ष डा। गणेश राईले भने । सोसाइटीका अनुसार देशभरका अस्पतालमा करिब एक सय ४० एनआइसियू, एक सय ५० पिआइसियू र ५० वटाजति भेन्टिलेटर छन् । तर, उपचार गर्ने चिकित्सक बढीमा तीन सय ५० जना छन् ।
२५ भन्दा धेरै बेड भएको अस्पतालमा अनिवार्य बच्चाको डाक्टर हुनुपर्ने सरकारी व्यवस्था छ । देशभर २८ वटा यस्ता अस्पताल छन् । तर, अधिकांशमा बच्चाको डाक्टर छैनन् । विश्व स्वास्थ्य संगठनले १८ वर्षमुनिकालाई बालबालिकाको सूचीमा राख्ने गरेको छ । नेपालमा १८ वर्षमुनिका ८२ लाख ४३ हजार दुई ३७ बालबालिका छन् ।
कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाका अनुसार बालबालिकाको उपचारमा प्रयोग हुने आइसियू दुई किसिमका हुन्छन्, पिआइसियू र एनआइसियू । एनआइसियूमा २८ दिनमुनिको शिशुको उपचार गरिन्छ । २८ दिनभन्दा माथिका बालबालिकाको उपचार गर्न पिआइसियूको प्रयोग गरिन्छ । त्यस्तै, बालबालिकाको शल्यक्रिया गरिएपछि एसआइसियूमा राखिन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार मेची, कोसी, राजविराज, वीरगन्ज, चितवन, भीम अस्पताल, बुटवल, नेपालगन्ज, सुर्खेत, दाङ, डडेल्धुरा, सेती र महाकाली अस्पतालमा पेडियाट्रिक वार्ड छन् । तर, पिआइसियू, एनआइसियू र एचडियू छैनन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवनका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा थोरै संख्यामा एनआइसियू बेड छन् । बाल मृत्युदर घटाउन धेरै ठाउँमा एनआइसियू राखियो, तर २८ दिनभन्दा माथिको बच्चाका लागि पिआइसियू राखिएको छैन ।
त्यस्ता उपकरण चलाउन सक्ने विज्ञ स्वास्थ्यकर्मीको अभावका कारण पनि उपचारमा समस्या हुने चिकित्सकहरूको भनाइ छ । ‘अहिले बालबालिकाका अस्पतालबाहेकका अस्पतालमा चलिरहेका आइसियू÷भेन्टिलेटर बच्चाका लागि मिल्दैनन् । बालबालिकाकै लागि प्रयोग हुने उपकरण अधिकांश चिकित्सकले चलाउन सक्दैनन् । त्यसका लागि छुट्टै तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ,’ डा. बिच्छाले भने ।
सरकारले चाहेमा तालिम दिएर त्यस्तो जनशक्ति तयार गर्न कान्तिले योगदान गर्ने उनले बताए । बालबालिकामा कोरोनाविरद्धको खोप नलगाइएको र शरीरमा प्रतिरोधी क्षमता पनि कमजोर हुने हुदाँ तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने उनले बताए।