शीतलहरका कारण आजदेखि तीन दिन विद्यालय बन्द — OSNepal

शीतलहरका कारण आजदेखि तीन दिन विद्यालय बन्द

LC (KTM) January 03, 2023 0

गोलबजार-केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो ।

सिरहाको नवराजपुर गाँउपालिकाले अत्यधिक चिसो बढ्न गएको हुनाले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले जानकारी दिनुभयो ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उहाँले बताउनुभयो । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुसारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहामा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ ।यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले र स्थानीयतहले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर