काठमाडौं – पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । भारतमा प्रतिबन्ध लगाएपनि भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन
यो फिल्म सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म बन्न सफल भएको थियो । भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उध्दृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ ।
मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो । भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ ।
प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन । फिल्ममा माहिरा खान र फवाद खान को अभिनय रहेको छ । जो भारतमा पनि उत्तिकै चर्चित छन् ।
माहिराले सन् २०१७ मा शाहरुख खानको फिल्म ‘रईस’मा काम गरेकी थिइन् । फवादले बलिउडका धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् । कतिपय भारतीय मिडियाले मौला जट्टको विरोध गर्दै आएका छन् ।