ताराखोलाको अर्गलमा २० कोठे बहुसांस्कृतिक सङ्ग्रहालय,६० प्रतिशत काम पूरा — OSNepal

ताराखोलाको अर्गलमा २० कोठे बहुसांस्कृतिक सङ्ग्रहालय,६० प्रतिशत काम पूरा

LC (KTM) July 04, 2021 0

बागलुङ, २० असार – मगर जातिको बाहुल्य रहेको ताराखोला गाउँपालिका–२ अर्गलमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणले गति लिएको छ । गत मङ्सिरदेखि निर्माण थालिएको सङ्ग्रहालयको ६० प्रतिशत काम पूरा भएको जनाइएको छ । आगामी फागुनभित्र निर्माण सक्ने लक्ष्य छ । बीस २० कोठे सङ्ग्रहालय भवनको दोस्रो तला अहिले ढलान भइरहेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारीदिनुभयो । रु दुई करोड १६ लाख बजेटमा जुम्ली निर्माण सेवाले सङ्ग्रहालय बनाउने जिम्मा पाएको थियो ।

सङ्ग्रहालय निर्माणमा सङ्घ सरकारसँग गाउँपालिकाको लागत साझेदारी छ । गाउँपालिकाको रु ५० लाख, पूर्वसांसद देवन्द्र पौडेलको ‘सांसद विकास कोष’को रु ५ लाख र बाँकी बजेट पर्यटन मन्त्रालयले दिएको हो ।

परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिने गरी सङ्ग्रहालय बन्ने अध्यक्ष घर्तीको बताउनुभयो छ । “मौलिक कला, संस्कृतिको संरक्षण होस् भन्ने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “सङ्ग्रहालयले नयाँ पर्यटकीय आकर्षण पनि थप्छ ।”सङ्ग्रहालयको पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री सङ्ग्रह गरिने भएको छ । राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पु¥याएको योगदान समेटिएका तस्वीर, वृत्तचित्र जस्ता सामग्री दोस्रो तलामा राख्ने योजना गाउँपालिकाको छ ।

तत्कालीन माओवादी सशस्त्र युद्धमा ताराखोलाका २७ जनाले शहादत प्राप्त गरेका थिए । सङ्ग्रहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातीय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ । सङ्ग्रहालयलाई पछि सांस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गरिने अध्यक्ष घर्तीले बताउनुभयो । सांस्कृतिक एकता र भाइचारालाई पनि सङ्ग्रहालयले प्रतिबिम्वित गर्नेछ ।

बहुसांस्कृतिक सङ्ग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने स्थानीय शिक्षक एवं मगर अगुवा बिर्बलाल घर्तीले बताउनुभयो । सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले गरेको लगानी स्वागतयोग्य रहेको उहाँको भनाइ छ । मगर जातिका अनेक परम्परा, रीतिथीति र पर्व ताराखोलामा प्रचलित छन् । ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगरले ताराखोलामा थातथलो बसाएका थिए । तीनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्राएका पर्व र मेलालाई अहिलेका पुस्ताले पनि जोगाइरहेका छन् ।

ऐतिहासिक भुस पोल्ने पर्व, भदौरे सिस्नो खोस्ने पर्व, असारे मेला, बर्खे मेला आदि ताराखोलाका रैथाने संस्कृति हुन् । हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ । सङ्ग्रहालय निर्माणसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्रमासमेत ताराखोलाले फड्को मारिरहेको छ । यसअघि सुविधासम्पन्न सभागृह बनाइसकेको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई पनि तीब्रता दिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर