तयारी खर्च नपाएको भन्दै क्लबहरुले खेल्न अस्वीकार गरेको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अब फागुन १९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति बनेको हो ।
उत्पन्न समस्याको निराकरण र लिगको मिति तय गर्नकै लागि एन्फाले बिहीबार ए डिभिजनका १४ क्लबलाई बैठकमा डाकेको थियो । गत हप्ता बसेको बैठकले बिहीबार लिगको मिति तय गर्न एन्फा र क्लब सहमत भईसकेका थिए । लिग डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
त्यस्तै फेयर प्ले अवार्डको नगद पुरस्कार ३ लाख , मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ पनि प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् ।