काठमाडौँ । पौषको १५ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म हो ‘डिसेम्बर फल्स’ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य रुपमा अभिनय रहेको फिल्मको अहिले आक्रामक रुपमा प्रचार प्रसार थालिएको छ ।
यसैबिच फिल्मकी मुख्य नायिका ठकुरीले फिल्म प्रचारमा हिडेको दिनको समेत पारिश्रमिक मागेपछि निर्मातालाई समस्या परेको बुझिएको छ ।
उपासनाले फिल्म प्रचारमा नहिँडेपछि फिल्मको प्रचारमा नायक आर्यन सिग्देल एक्लै कुदीरहेको देखिन्छ । ‘कमेडी क्लब विथ च्याम्पियन्स, खल्ती एडदेखि पशुपतिनाथको आरती’मा उपासना नदेखिएपछि तनावमा रहेको निर्माण यूनिटले फिल्मको प्रचार पनि ढिलो गर्यो ।
फिल्म रिलिजको दिन नजिकिदै जाँदा उपासनाले प्रचार प्रसारमा हिडेको पारिश्रमिक मागेपछि निर्माता अप्ठ्यारोमा परेका हुन् । उपासना र आर्यनका अलावा फिल्ममा नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहेको फिल्को निर्देशन प्रविण झाले गरेका हुन् । फिल्मको लागत ३ करोड भन्दा माथि रहेको निर्माण यूनिटले दाबी गर्दै आएको छ ।