दाङ-तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको छ । उहाँले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहनुभएको छ । “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर-घर पुग्छु”, उहाँले भन्नुभयो, “गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै रु डेढ लाखसम्म आम्दानी गरेँ ।”
विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उहाँ व्यावसायिक तरकारीमा लाग्नुभएको हो । उहाँले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहनुभएको छ । वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आउनुभएकी उहाँले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्नुहुन्छ । धनियाँ बेचेर भएको आम्दानीबाट उहाँले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल हुनुभएको छ । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उहाँले बताउनुभयो ।
उहाँ मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् । सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गर्नुभएको छ ।
उहाँ पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्नुहुन्छ । “पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ”, उहाँले भन्नुभयो, “यसबाट वर्षमा रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ ।”
तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उहाँले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताउनुभयो । सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आउनुभएको छ । दिनभर तरकारीखेतीमा व्यस्त हुने उहाँ पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्नुहुन्छ । उहाँले वार्षिकरुपमा रु साढे तीन लाखसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताउनुभयो ।
“तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ”, उहाँले भन्नुभयो ।सामान्य लेखपढ गर्नुभएकी उहाँ व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउनुहुन्छ । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उहाँको जोड छ ।