काठमाडौं -४ देश सहभागी भलिबल च्याम्पियनशिपमा नेपाल चौथो भएको छ । बङ्गलादेशमा भएको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको हो ।
आज भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो ।
त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो । नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो ।
खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो ।आयोजक बङ्गलादेश र किर्गिस्तान अब हुने फाइनल खेलमा भिड्नेछन् ।