गाउँमै ‘ब्लक उद्योग’ सञ्चालन गरेर जीविकोपार्जन गर्दै साधुराम — OSNepal

गाउँमै ‘ब्लक उद्योग’ सञ्चालन गरेर जीविकोपार्जन गर्दै साधुराम

LC (KTM) December 25, 2022 0

महेन्द्रनगर, १० पुस – कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गर्नुभयो । कोरोना महामारीसँगै स्वदेश फर्किनुभएका उहाँ हाल गाउँमै अरु युवासित मिलेर ‘चान्देव एकीकृत इन्टरलक इँटा तथा ब्लक उद्योग’ सञ्चालन गरिरहनुभएको छ । सिमेन्टको प्रयोग गरी बनाइले आधुनिक एवं भूकम्प प्रतिरोधी इँटा उद्योग समूहमा सञ्चालन गरिरहेका चौधरीले उद्योग स्थापनाको छोटो समयमै मनग्य आम्दानी गरिरहनुभएको छ । “घरपरिवार छाडेर विदेशमा मजदुरी गर्नुभन्दा गाउँमै केही गरौँ भनेर भारतबाट फर्किएर यसमा संलग्न भए”, उहाँले भन्नुभयो, “हातमा सीप भए गाउँमै मेहनत गरेर आम्दानी गर्न सकिँदोरहेछ ।”

कञ्चनपुरमा इँटा उद्योगबाट उत्पादित इँटा घर निर्माण प्रयोेजनमा बढी प्रयोग भइरहेको भए पनि पछिल्लो समय यहाँका चौधरीले जस्तै छिटपुटरुपमा इन्टरलक ब्लक बनाउनेक्रम बढेको छ । “जेठमा सञ्चालनमा ल्याएको उद्योगबाट आठ हजार ब्लक बिक्री गरिसक्यौँ”, चौधरीले भन्नुभयो, “अहिले थप चार हजार इँटा माग भएपछि बनाउन थालेका छौँ ।” उहाँले रु पाँच लाखको लगानीमा उद्योग सञ्चालन गरेको उल्लेख गर्दै सञ्चालन भएयता इँटाको माग आउन थालेको जानकारी दिनुभयो ।

“रु तीन लाख बढीको इँटा बिक्री गरिसक्यौँ”, उहाँले भन्नुभयो, “फस्टाउँदै गए मुनाफा पनि समूहमा सहभागीबीच बाँडफाँट गर्ने योजना छ ।” उहाँले घरपरिवारसितै बसेर उद्योगमा खटिनुका साथै स्याली र दोदा नदीमा बगर खेतीबाट आयआर्जन गरिरहेको बताउनुभयो ।“सिमेन्टबाट निर्मित इँटाको प्रयोगले घरको लागतसमेत कम हुने भएकाले यसको माघ बढिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले प्रतिइँटा रु ४० का दरले बिक्री भइरहेको छ ।” उद्योगमा आबद्ध स्थानीय निमबहादुर चौधरीले गाउँका–६ जना मिलेर गाउँमै उद्योग सञ्चालनको तालिम लिएर व्यावसायिकरुपमा लागेको बताउनुभयो ।

“हिउँदमा सबै बगरमा बेमौसमी तरकारी लगाएर आम्दानीमा जुटिरहेका हुन्छौँ”, उहाँले भन्नुभयो, “यता ब्लक उद्योगले वर्षभरि काम दिइरहेको हुन्छ ।” यसबाट भएको आम्दानी सोही उद्योगमा लगानी गरिरहेको उहाँले बताउनुभयो ।“मुनाफा वितरणभन्दा पनि उद्योगको दायरा बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “ स्थानीय दशकभन्दा बढी समयदेखि यहाँ बगरमा तरकारी फलाएर घर खर्च चलाउने धेरै छन् ।” उहाँले हरेक वर्ष छ महिना बगरखेती हुने गरेको उल्लेख गर्दै गाउँमा उद्योग सञ्चालनले व्यवस्था थप बढाएको जानकारी दिनुभयो ।

उद्योगमा आबद्ध रामदयाल रानाले उद्योग सञ्चालनका लागि दातृ निकायको सहयोगले सम्भव भएको बताउनुभयो । ब्लक इँटा बनाउने मेसिन खरिदका लागि यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले रु दुई लाख सहयोग गरेको हो । यहाँ उत्थान परियोजनाअन्तर्गत समाजकल्याण सङ्घले चार वटा स्थानमा ब्लक उद्योग सञ्चालन गर्न सहयोग गरेको छ । “हामीलाई त उद्योगबारे थाहा नै थिएन”, रानाले भन्नुभयो, “दातृ निकायले तालिम र मेसिन दिएपछि उद्योग सञ्चालनमा सहयोग पुगेको हो ।” कृषि नै आयआर्जनको मुख्य पेसा भए पनि ग्रामीण भेगका कृषकले राज्यबाट कुनैखाले अनुदान र सहयोग नपाएको रानाको गुनासो छ ।

एनएनएसडब्लुएको उत्थान परियोजनाका संयोजक विनोदविक्रम जैरुले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका परिवारको अवस्था सबल बनाउन सहयोग पुग्ने उद्देश्यले ब्लक उद्योग सञ्चालनका लागि सहयोग गरिएको बताउनुभयो । “आयस्रोत सामान्य भएकाको अवस्थामा सुधार आएर आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले उत्थान परियोजनामार्फत विभिन्न आयमूलक काममा सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “गाउँबस्तीमै मेहनत गरेर जीविका चलाउनसक्ने जनशक्ति निर्माणमा अग्रसर छौँ ।”

चान्देवमा लामो समयदेखि बगरखेतीमा लागिपरेका कृषकलाई ब्लक उद्योग सञ्चालनमा समेत सहयोग पु¥याइएको जैरुले बताउनुभयो । “बगरमा खेती आंशिक समय मात्र हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी समय उद्योगमा खटिएर आम्दानी गर्नसक्ने भएका छन् ।” उहाँले जलवायुमैत्री, घर बनाउँदा प्लास्टर गर्नु नपर्ने र पोलेको इँटाभन्दा बलियो भएकाले पछिल्लो समय ब्लक इँटाको माग बढिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर