इस्लामाबाद, ९ पुस:पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यंग्यकार मिर्जा बिलालसँग विवाह गरेकी छन् । सन् २०१४ खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश–पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी सहर सिएटलमा एक साधारण निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी हुन ।
उनले आफ्नो र बिलालको निक्का समारोहको तस्विर पनि ट्विटरमा सेयर गरेकी छिन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देख्न सकिन्छ । रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो ।
रहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो, जो एक मनोचिकित्सक हुन्। यो जोडीले सन् १९९३ मा विवाह गरे र सन् २००५ मा सम्बन्धविच्छेद भएको थियो । उनको दोस्रो विवाह इमरान खानसँग भएको थियो, जुन मुश्किलले १० महिना टिकेको थियो । जियो न्युजकाअनुसार यो जोडीले २०१४ मा विवाह गरेको थियो र २०१५ मा सम्बन्धविच्छेद भएको थियो ।खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ भएको आरोप लगाएकी थिइन् ।