धौलागिरि क्याम्पसमा १० करोड लगानीमा सुविधा सम्पन्न पाँच तले भवन बन्दै — OSNepal

धौलागिरि क्याम्पसमा १० करोड लगानीमा सुविधा सम्पन्न पाँच तले भवन बन्दै

LC (KTM) December 23, 2022 0

गलकोट-धौलागिरि क्याम्पसमा रु १० करोड लगानीमा पाँचतले भवन निर्माण हुने भएको छ । पुनःनिर्माण प्राधिकरणको लगानीमा क्याम्पस परिसरमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । नयाँ बन्ने भवनमा २४ वटा कक्षाकोठाका साथै सभाहल, प्रशासनिक कक्ष र विभागीय कक्ष रहने क्याम्पस प्रमुख प्रध्यापक डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

विसं २०१९ मा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा हाल अध्यापनका लागि कक्षाकोठाको अभाव भएको उपाध्यायको भनाइ छ । भूकम्पका कारण क्षतिग्रस्त भएका क्याम्पसका संरचना पुनःनिर्माणका लागि सात वर्ष कुर्नुपरेको उहाँले बताउनुभयो । क्याम्पसको पुरानो भवनमा रातो स्टिकर अझै पनि छ । क्याम्पसले सानासाना भवन बनाउँदा जग्गामात्रै खर्च भएको जनगुनासोपछि क्याम्पसको निरन्तरको पहलकदमीबाट पाँचतले सुविधा सम्पन्न भवन निर्माण गर्न थालिएको हो ।

“विज्ञान सङ्काय तथा बिबिए कार्यक्रमका लागि बढी कक्षाकोठा आवश्यक छन्”, प्रध्यापक डा उपाध्यायले भन्नुभयो, “बिबिए र बिएका कक्षा चलाउन अझै पनि समस्या छ, दुई वर्षभित्र भवन पुनःनिर्माण सम्पन्नपछि समस्या हट्ने विश्वास लिएका छौँ ।” पुराना संरचना भत्काउने र नयाँ भवन निर्माणपछि क्याम्पस शैक्षिक गुणस्तर वृद्धिमा बढी केन्द्रित हुने उहाँको भनाइ छ । बालमन्दिर विद्यालयसँग जोडिएको झण्डै एक रोपनी जग्गामा नयाँ भवन निर्माण हुनेछ । भवन पुनःनिर्माणपश्चात् बिएड र बिबिए कार्यक्रमलाई बिहान पढाउन सहज हुने क्याम्पसको भनाइ छ ।

क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमका लागि स्थानीय स्रोत जुटाउन बहुउद्देश्यीय भवन समेत बनाएर भाडामा लगाएको छ । हाल क्याम्पसमा ३७ वटा कक्षा एकैसाथ सञ्चालन भइरहेका छन् । क्याम्पसले बिबिए कार्यक्रमतर्फ शतप्रतिशत विद्यार्थीले नतिजा दिइरहेकाले सुविधासम्पन्न भवनले विद्यार्थीलाई अध्ययनमा अझै सहज हुने क्याम्पसका बिबिए संयोजक तथा उपप्रध्याक विप्लब शर्माले जानकारी दिनुभयो ।

क्याम्पसमा अत्याधुनिक पुस्तकालय बजेट अभावमा अलपत्र अवस्थामा छ । तत्कालीन सांसद विकास कोषबाट निर्माण गरिएको भवन सरकारले संसद् विकास कोष खारेज गरेपछि अलपत्र परेको हो ।क्याम्पसले आगामी शैक्षिक सत्रदेखि छात्राबासको व्यवस्था गर्ने भएको छ । टाढाबाट आएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्राबासमा प्राथमिकता दिने क्याम्पसले जनाएको छ । क्याम्पसमा हाल दुई हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर