मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटियो — OSNepal

मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटियो

LC (KTM) July 03, 2021 0

दमौली, १९ असार – निरन्तरको वर्षाका कारण मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो ।

पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भन्नुभयो ।पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

मुख्य राजमार्ग खुला, सहायक राजमार्ग अवरुद्ध-वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।उहाँका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । उक्त मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर