बलिउडलाई नै अचम्मित पार्ने गरी अहिले एउटा कुराले पुरै सनसनी मच्चाएको छ । भारतीय तथा नेपाली संचारमाध्यमहरुले समेत यो खबरलाई एकदमै चासोका साथ हेरेका छन् । बलिउडमा मिष्टर परफेक्सनिष्टका रुपमा आफ्नो परिचय बनाएका अभिनेता आमिर खानले सबैलाई आश्चर्यमा पार्ने गरी एउटा निर्णय लिएका छन् ।
उनले आफ्नी श्रीमती किरण राव संग सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। उनीहरु दुबै जनाले राजीखुशीमा यो निर्णय लिएको जनाएका छन् । दुवैले संयुक्त वक्तव्य जारी गर्दै लामो समयदेखि आफूहरु अलग हुनेबारेमा सोचिरहेको र आफ्नो बाटोमा हिँड्ने निर्णय लिन चाहेको उल्लेख गरेका छन्।
१५ बर्ष सम्मको लामो सम्बन्ध किन बिच्छेद गर्ने निर्णय लिए भन्ने बारे केही पनि खुलाईएको छैन । उनीहरुले जारी गरेको वक्तव्यमा भनिएको छ, हाम्रो परिवार र साथीहरुप्रति हामी आभारी छौ ,जसले हाम्रो सम्बन्धको उतारचढावमा सधैँ हामीलाई साथ दिए। उनीहरु बिना हामीले हाम्रो सम्बन्धलाई यति सुरक्षित राख्न सक्ने थिएनौँ। हामीले बुझेका छौँ।
‘डिभोर्स’ अन्त्य हैन, नयाँ यात्राको सुरुवात हो।’ हामीले जसरी सम्बन्धविच्छेदलाई बुझेका छौँ, त्यसरी नै उहाँहरुले पनि बुझिदिनुहुन्छ भनेर आशा गर्दछौँ।’ यो बक्तब्य अनुसार उनीहरु बीच लामो समय देखी सम्बन्धमा खटपट देखिए पनि सन्तुलीत गर्दै यो अवस्था सम्म ल्याएको बुझ्न प्रष्टै सकिन्छ । उनीहरुले डिर्भोसलाई नयाँ यात्राको सुरुवातको रुपमा बुझिदिन समेत आग्रह गरेका छन् ।
सन्तान प्रति दुबैले जिम्मेवारी लिने
उनीहरुले आफुहरु पति पत्नी नभए पनि सन्तानका लागि आमा बुवा बनेर काम गर्ने बताएका छन् । दुबै जनाले सन्तानलाई मिलेरै पालनपोषण समेत गर्ने बताएका छन् । यी दुईले सन्तान आजादलाई संयुक्त रुपमा पालनपोषण गर्ने निर्णय लिएका हुन् । उनीहरुले आफुहरुलाई जीवनको नयाँ अध्याय सुरु गर्न मन लागेको बताउँदै आगामी दिनमा श्रीमान् र श्रीमती नरहने पनि बच्चाको लागि अभिभावक र परिवार भने रहिरहने बक्तब्यमा प्रतिबद्धता जनाएका छन् ।
त्यतिमात्र हैन यी दुबै जनाले पानी फाउनडेशन, चलचित्र लगायतका प्रोजेक्टहरुमा पनि संयुक्त रुपमा काम गर्दै अगाडि बढ्ने बताएका छन्। आमिर र किरण राव सन् २००१ को सुपरहिट चलचित्र ‘लगान’को सेटमा पहिलो पल्ट भेटेका थिए। यी दुईले सन् २००५ मा विवाह गरेका थिए। सन् २०११ मा यी दुईको छोरा जन्मिएका थिए। उनीहरुको यो निर्णयले भने बलिउडमा ठुलै हंगामा मच्चाएको छ ।