झापाको दमकस्थित बेलडाँगीमा आज बाट प्रथम जय हुमागाई मेमोरियल गोल्डकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहलेश युवा क्लब सिराहाले विजयी सुरुआत गरेको छ । झापाको बिर्तामोड युनाइटेड एफसी लाई टाइब्रेकरमा हराउँदै सिराहाले विजयी सुरुआत गरेको हो ।
जय हुमागाई एण्ड फेमेली ट्रस्टद्वारा आयोजित प्रतियोगितामा सिराहाले बिर्तामोडलाई ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा बिर्तामोडका दुई खेलाडीको प्रहार बाहिरिएको थियो ।
जसमा पदम भट्टराई र विक्रम तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो । आशिष चापागाईं र अभिषेक गुरुङको प्रहार बाहिरिएको थियो । यस्तै, सिरहाका लागि सिमान्त थापा, अजय मार्टिन, फोडे फोफोना र ऋतिक थापाको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच सिमान्त थापा घोषित भए ।
प्रतियोगिता अन्र्तगत भोलिको खेलमा पथरी शनिश्चरे सेटलमेन्ट एफसी मोरङ र शान्तिनगर एफसी सुनसरीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउने छ ।