सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला — OSNepal

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

LC (KTM) December 21, 2022 0

नेपालगञ्ज- बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गर्नुभयो ।

जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्णा भण्डारीले गुणस्तरीय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताउनुभयो ।

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठापाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताउनुभयो । शिक्षक मुगा लम्सालले अभिभावकको ‘गाइडलाइन’को अभावले पनि बालबालिकाले कमजोर प्रदर्शन गरेको र शिक्षामा उनीहरुलाई सक्षम बनाउन अभिावक नै चनाखो हुनुपर्ने बताउनुभयो ।

आधारभूत तह कक्षा १ देखि ३ सम्मको पढाइ मेलामा गाउँपालिकाका ३० विद्यालयका करिब तीन सय विद्यार्थी सहभागी थिए । मेलामा विद्यार्थीको सीप र क्षमताको अवस्थाबारे बुझ्न पुस्तकमा उल्लेख गरिएको विषयवस्तु अध्ययन गर्न लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर