काठमाडौं -विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको समाचारमा जनाइएको छ । त्यसै गरी ५ जना कोमामा गएको बताइएको छ ।
आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् । अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् ।
खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेको थियो । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
टोलीको सम्मानमा ४० लाख प्रशंसक भेला भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।