काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ ।
आईओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने गरी मूल्य समायोजन गर्नुपर्ने हो । तर, निगमले भने यसविपरित मूल्य समायोजन गर्ने गरेको देखिन्छ ।
आयल निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको छ । आईओसीबाट पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा मूल्य घटेर आएको थियो । तर, निगमले भने ५० प्रतिशतभन्दा कम गरेर मूल्य समायोजन गरेको हो ।
भारतबाट घटेर आएअनुसार निगमले मूल्य समायोजन नगरेको यो पहिलोपटक भने होइन ।आफूलाई घाटामा देखाउँदै निगमले उचित मूल्य समायोजन नगर्ने गरेको आरोप लाग्दै आएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।