प्यूठान । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कत र बोली व्यबहारले बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै उनी र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।
झिमरुक ३ प्युठानका सुवास जिसीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनले पत्रमा लेखेका छन् भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’
भेलु बाजेले सामाजिक सञ्जालको माध्यमबाट छाडा सुन्नै नसकिने शब्दहरु बोल्दै आइरहेका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको बताएकी छन् ।