कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भईरहेको छ। लुसिल स्टेडियममा जारी अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा गएको छ । अतिरिक्त समयको दोस्रो हाफमा लियोनल मेस्सीले र फ्रान्सका एम्बापेले गोल गरेका छन् । यो सहित अर्जेन्टिना ३ ३ को बराबरीमा खेलिरहेको छ । खेलको निर्धारित ९० मिनेट २(२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
दोस्रो हाफमा फ्रान्सका लागि दुबै गोल केलियन एम्बापेले गरेका हुन् । उनले ८० औ मिनेटमा पेनाल्टी तथा ८१ औ मिनेटमा अर्काे गोल गर्न सफल भए । यसअघि पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेको थियो । लुसिल खेलको २३ औ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यस्तै अर्जेन्टिनाका लागि ३६ औ मिनेटमा एन्जेल डि मारियाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् । दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।
मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।
अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।