पैसा र पावर हुनेहरु पनि न्यायलय दरिलो भयो भने ठिंगुरीनु पर्छ भन्ने पछिल्लो उदाहरण बनेका छन् बिराटनगरका २४ बर्षिय रबिन सिंह कार्की । उनी प्रदेश सांसद बिन्दिया कार्कीका छोरा हुन् ।
स्थानीय तहका वडाअध्यक्षको समेत रवाफ चल्ने यो समयमा प्रदेश सांसदको समेत केही लागेन । मादक पदार्थ सेवन गरेर कार चलाउँदा एक जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराएको अभियोगमा रविन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश लगत्तै कार्की विराटनगर कारागार चलान समेत भएका छन् । कार्की विरुद्ध सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मङ्गलवार अभियोग दर्ता गराएको थियो ।
अभियुक्तलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवाना माग दाबी राखेर अभियोग दर्ता भएको थियो । उनले गत जेठ २० गते राती रक्सिको तालमा प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको कार कुदाएका थिए । सोही क्रममा उनले पैदल यात्रीलाई ठक्कर दिएका थिए । उनले चलएको कारको ठक्कर बाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।