भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व सङ्कलन — OSNepal

भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व सङ्कलन

LC (KTM) December 17, 2022 0

त्रिवेणी-भन्सार छली नेपाल भित्र्याइएका सामग्रीबाट तीन करोड बढी राजस्व सङ्कलन भएको छ । नवलपरासीपूर्व नवलपुरमा भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रण गरी त्यसबाट रु तीन करोड २२ लाख ४८ हजार एक सय दुई राजस्व असुल गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा भन्सार छलेर ल्याइएका सामग्री निन्त्रणबाट उक्त राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । पाँच महिनाको अवधिमा २० पटक भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा लिइएको थियो ।

नवलपरासीसहित रुपन्देहीका विभिन्न सीमानाकाबाट भन्सार छलेर ल्याइएका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । कपडा, सवारीसाधनका पाटपुर्जा, किरानाका सामान, युरिया, चिनी, भाँडाकुँडालगायतका सामग्री नियन्त्रणमा लिइएको थियो ।

यस अवधिमा प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ७९ वटा सवारी नियन्त्रणमा लिएको र कारबाहीबाट रु १३ लाख नौ हजार राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख तिवारीले बताउनुभयो ।

उहाँका अनुसार पाँच महिनाको अवधिमा जुवातासका सातवटा मुद्दामा ४४ जनालाई कारबाही गरी रु एक लाख ८७ हजार दुई सय ४४ राजस्व सङ्कलन गरिएको छ । यस्तै २७ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष नौ महिना तीन दिन कैद सजाय र रु छ लाख ९५ हजार पाँच सय ७२ राजस्व असुल गरिएको उहाँले बताउनुभयो ।

प्रमुख तिवारीका अनुसार चालु आवको मङ्सिर मसान्तसम्ममा लागुऔषधका ३२ मुद्दा दर्ता भएका छन् । भारतीय सीमाबाट लागुऔषध भित्राएर नवलपुर हुँदै देशका विभिन्न सहरमा लैजाने गरेको पाइएकाले यसको नियन्त्रणका लागि आफूहरु चनाखो भएर लागेको उहाँले बताउनुभयो ।

“खासगरी लागुऔषध ओसारपसार यो बाटोबाट धेरै हुने गरेको घटनाक्रमले समेत देखाएको छ, हामी नियन्त्रणका लागि विषेश निगरानी गरेका छौँ”, जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख तिवारीले भन्नुभयो ।जिल्लामा पाँच महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय ९६ वटा मुद्दा दर्ता भएको उहाँको भनाइ छ । विशेषगरी लागुऔषध, सवारी दुर्घटना र आत्महत्याका घटना धेरै हुने गरेको तथ्याङ्कले देखाएको छ । नवलपुरमा पाँच महिनाको अवधिमा ४७ जनाले आत्महत्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर