गुराँस गाउँपालिका-८ बालमैत्री वडा घोषणा — OSNepal

गुराँस गाउँपालिका-८ बालमैत्री वडा घोषणा

LC (KTM) December 16, 2022 0

कर्णाली-कर्णाली प्रदेश राजधानी सुर्खेतसँग सिमाना जोडिएको दैलेख गुराँस गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।बिहीबार एक कार्यक्रमबीच वडालाई बालश्रम मुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

बालमैत्री वडा घोषणासँगै गुराँस गाउँपालिका वडा नं ८ दैलेख जिल्लाको तेस्रो र गुराँस गाउँपालिकाको दोस्रो बालमैत्री वडा बनेको छ । बालमैत्री वडा हुनका लागि ५१ वटा सूचकांक पूरा गर्नुपर्ने हुन्छ । ती सूचकांक पूरा भएको भन्दै वडा नम्बर ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले वडालाई बालमैत्री स्थानीय शासनका रुपमा घोषणा गरिएको जानकारी दिनुभयो ।

वडा नम्बर ८ ले वडामा जोखिममा परेका बालबालिकाको राहत पुनःस्थापना तथा उद्धारका लागि बालकोष स्थापना गरेको छ भने बालबालिकाको वस्तुस्थिति विवरण, बालबालिकाको स्थिति प्रतिवेदन, लगानी योजनालगायत बालबालिकामैत्री नीति निर्माणमा प्रगति गरेको ओलीले बताउनुभयो । स्थानीय तहले वार्षिक बजेटमा बालबालिका लक्षित बजेट १४ प्रतिशत विनियोजन गरेको छ । वडा बालअधिकार समिति, पालिकास्तरीय बालअधिकार समिति र बालअधिकारीको व्यवस्थासमेत गरेर बालमैत्री वडाको लागि सूचकांक पूरा गरिएको छ । पाँच वर्षमा बालविवाह ५२ प्रतिशतबाट पाँच प्रतिशतमा झारेको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

शतप्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्ना, बाल श्रमिक सम्बद्ध परिवारका लागि वैकल्पिक आयआर्जनका कार्यक्रमलगायत मापदण्ड पूरा गरेको प्रतिवेदनमा जनाइएको छ । “अब पालिकालाई नै बालमैत्री बनाउने तयारीमा छौँ, गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले भन्नुभयो, “अब पालिकालाई नै बालमैत्री बनाउने गरी योजना तयार गरिएको छ ।”

उहाँले बालबालिकाको क्षेत्रमा लगानी बढाउँदै लैजाने गरी आफूहरुले योजना बनाएको भन्दै पालिकालाई नै बालमैत्री बनाउन सक्ने आधार वडा नम्बर ८ र ६ ले दिएको उल्लेख गर्नुभयो । वडा नम्बर ६ लाई यसअघि २०७५ सालमा बालमैत्री वडा घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर