काठमाडौं- प्रतिक्षित फिल्म ‘प्रसाद २’को छायांकन अन्ततः आजबाट सुरु भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ ।
एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन् ।
आज बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए ।सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।
चलचित्र ‘प्रसाद’ सुपरहिट भएपछि यसको सिक्वेलको रुपमा ‘प्रसाद २’को निर्माण हुन लागेको हो । चलचित्रको कथावस्तु दउत्कृष्ट भएकाले यसको सिक्वेलले पनि अघिल्लो श्रृङ्खलाको जस्तै माया पाउने विश्वास निर्देशक सुदर्शन थापाले लिएका छन् । चलचित्रको प्रदर्शन मिति छायांकन सकिएपछि तोकिने निर्माणपक्षले बताएको छ ।