कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा अब केहिबेर पछि फ्रान्स र मोरक्को भिड्दै छन् । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएर उपाधि नजिक पुगिसकेको छ। फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराएको थियो । यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । तर,दुई टोलीबीच अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको छ ।
फ्रान्स र मोरक्कोबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा ७ खेल फ्रान्सले जितेको छ । मोरक्कोले १ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।