तनहुँको शुक्लागण्डकी नगरपालिका– १ र २ जोड्ने गुबे खोला माथिको फलामे पुल बगाएपछि स्थानीयले बनाएको काठे साँघुबाट गन्तव्यतर्फ जाँदै एक यात्रु । लगातारको वर्षासँगै बिहीबार पुल बगाएपछि स्थानीयले आवतजावतका लागि काठे साँघु तयार गरेका हुन् ।
आधा दर्जन नदीमा बाढी-विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायत नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।
अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जनभन्दा बढी ठाउँका बासिन्दा त्रसित भएका छन् भने उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।
वर्षायाममा महोत्तरीका धेरै जसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई दृष्टिगत गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।
यता विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित (जिल्ला दैविक प्रकोप उद्धार समिति) लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्च रुपमा सतर्क भएको जनाइएको छ ।
यसैबीच जिल्लाको बलवा नगरपालिका–१ स्थित बर्दिया बञ्चौरी गाउँमा रातो नदीले तटबन्ध कटान गर्न शुरु गरेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाका अन्य स्थानमा पनि नदीको अवस्थाबारे प्रशासनले जानकारी लिइरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।