महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने — OSNepal

महेन्द्रनगरमा समृद्ध सुदूरपश्चिमबारे बहस हुने

LC (KTM) December 13, 2022 0

महेन्द्रनगर- महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलन ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताउनुभयो । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्नुहुनेछ ।

“सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ”, उहाँले भन्नुभयो, “नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।” सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उहाँले बताउनुभयो । “यस क्षेत्रमा थुप्रै सम्भावना भए पनि ती सम्भावनाको उजागर हुन सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताउनुभयो ।

सेमिनारमा स्वदेशी र विदेशी गरी चार सय १६ जना सहभागी भएको ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताउनुभयो । उहाँले भौतिक रूपमा दुई सय जना र अन्य अनलाइनमार्फत् सहभागी हुने बताउनुभयो । “सम्मेलनमा जनस्वास्थ्य, मेडिकल शिक्षा, इञ्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा बहस हुनेछ ।” सम्मेलनमा यहाँको गेटा मेडिकल कजेलदेखि पश्चिमसेती परियोजनाबारे पनि बहस हुने उहाँको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने उहाँको विश्वास छ । सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकको सहभागिता रहने छ । विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाको उत्खनन गर्र्नेमा विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर