सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा,गाउँ नै झिलीमिली — OSNepal

सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा,गाउँ नै झिलीमिली

LC (KTM) December 13, 2022 0

जुम्ला-जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा पहिलो पटक सौर्य ऊर्जाबाट गाउँ नै झिलीमिली बनेको छ । कहिल्यै पनि बिजुलीको सपना पूरा नहुने पीडा साँचेर बसेका सो गाउँका स्थानीयवासी अहिले रात दिन सौर्य ऊर्जाले विद्युत् सेवा सञ्चालनमा आएपछि खुशी भएको स्थानीयवासी मुनबहादुर रोकायाले बताउनुभयो ।

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको थियो । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको स्थानीयवासी रोकायाले भन्नुभयो, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको छ महिना पोखरी गाउँका स्थानीय त्यहीँ बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु¥याइएको छ ।” सबै गरेर एक सय २० घरमा बिजुली बालिएको उहाँले बताउनुभयो ।

पचास किलोबाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा छ वटा बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैन । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाईफाई चलाउन सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताउनुभयो । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । यसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु तीन करोड ३४ लाख र रु ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । पोखरी गाउँमा सौर्य ऊर्जाका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर