बिश्वकप जिताउने रोनाल्डोको सपना टुट्यो , अब फुटबल करियर समेत अन्यौलमा — OSNepal

बिश्वकप जिताउने रोनाल्डोको सपना टुट्यो , अब फुटबल करियर समेत अन्यौलमा

LC (KTM) December 11, 2022 0

बिश्वकपको उपाधी दाबेदार मानिएको पोर्चुगल अफ्रिकी टोली मोरक्कोसंग पराजित भए पछि रोनाल्डोको भबिष्यका बारेमा चिन्ता र चासो बढ्न थालेको छ । यो हारले पोर्चुगिज स्टार रोनाल्डोको प्रतिष्ठामा समेत प्रश्न चिन्ह उठेको छ । प्रतिष्ठा मात्र हैन उनको करिअर अब कता जाने हो भन्ने प्रश्नहरु सामुन्ने आउन थालेका छन् ।

उत्कृष्ट खेल प्रर्दशन गर्दै आएको पोर्चुगलले अहिले सम्म बिश्वकप जित्न सकेको छैन । आफु हुदै बिश्वकप जिताउने रोनाल्डोको सपना मोरक्को संगको पराजयले तुहादिएको छ । अल थुमामा रंगशालामा मोरक्कोको उत्कृष्ट प्रदर्शनसँगै यसपटकका लागि पोर्चुगलको विश्वकप यात्रा सकिएको छ । मोरक्कोले खुशी बाँडिरहदा पोर्चुगिज कप्तान रोनाल्डो आफ्नो अनुहार छोपेर रुँदै मैदान बाट बाहिरिए ।

उनी एक्लै मैदान बाहिर रुदै निस्किएका थिए । उनको यो दृश्यलाई पत्रकारहरुले क्यामरामा कैद गर्न नपाउँदै उनी मैदान छोडेर सिधै ड्रेसिङ रुमतिर पसे । उनले आफ्नो टोलीलाई बिश्वकप जिताउन नसके पनि एउटा राम्रो विश्व कीर्तिमान भने बनाउन सफल भएका छन् । त्यो कीर्तिमान हो उनी विश्वकपका पाँच अलग संस्करणमा गोल गर्ने एक मात्र खेलाडी बनेका छन् ।

१९६ अन्तर्राष्ट्रिय खेलमा ११८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा रहेका छन् रोनाल्डो । उनले पाँच पटक बालोन डी’ओर जितेका छन् । उनले चार पटक युरोपियन गोल्डेन बुट र सात पटक लिग टाइटल जितेका छन् । पोर्चुगलका प्रशिक्षकले रोनाल्डोलाई त्यति मान्यता नदिएर पनि हारेको भन्ने दर्शक तथा फ्यानको बुझाई छ । त्यसको कारण पनि रहेको छ ।

कप्तान रोनाल्डोले दक्षिण कोरियासँगको हारपछि दिएको प्रतिक्रियाका कारण उनलाई अन्तिम १६ को खेलमा बेन्चमा राखिएको थियो । त्यसपछि उनले पोर्चुगललाई विश्वकपको दौडबाट बाहिर निकाल्ने धम्की दिएको समाचार पनि बाहिर आए । तर त्यसपछि भने पोर्चुगिज प्रशिक्षक र टिमले यसको बारेमा प्रष्ट पार्दै त्यस्तो केही नभएको बताएका थिए ।

यसको संकेत भने मोरक्कोसँगको खेलमा पनि उनी पहिलो रोजाइमा नपर्नु पनि रहेको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डेज सान्तोष्ले उनलाई रणनीतिक कारण देखाइ बेन्चमा नै राखेका थिए । तर आन्तरिक कुरा के थियो त्यो भने बाहिर नआएको पनि हुन सक्छ । पछि रोनाल्डोले ५१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

४२ औं मिनेटमा मोरक्कोका युसुफ एन नेसरीले गरेको हेडर गोल नै मोरक्कोको जितको मुख्य आधार बनेको थियो । विश्वकपबाट बाहिरिएसँगै रोनाल्डोको क्लब फुटबलको भविष्य पनि अन्योलमा परेको छ । किनभने उनले प्रतियोगिताको सुरु हुने केही दिनअघि म्यानचेस्टर युनाइटेड छोडेका थिए । अब उनी आफ्नो करियरलाई कसरी अघि बढाउँछन् त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर