ठगी गरेको अभियोगमा ५८ वर्षीय पुरुषलाई जेल सजाय सुनाइएको छ । उनले करिब १५५ महिलालाई ४ करोड रुपैयाँभन्दा बढीको ठगी गरेका थिए । उनी अनलाइन महिलालाई आफ्नो जालमा फसाएर पैसा निकाल्ने गर्थे । उनलाई रोमान्स स्क्यामरको संज्ञा दिइएको छ। कुरा अमेरिकाको न्यु जर्सीको हो ।
गत शुक्रबार ५८ वर्षीय प्याट्रिक गिब्लिनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । गिब्लिनले प्रायः अविवाहित महिलालाई लक्षित गर्थे । उनले डेटिङ साइट र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत महिलाहरूसँग सम्बन्ध बनाउँथे र त्यसपछि उनीहरूलाई ठगी गर्ने गरेका थिए । रिपोर्टका अनुसार एट्लान्टिक सिटीका प्याट्रिक गिब्लिनलाई विधवा, अपाङ्गता भएका महिला र एकल आमालाई धोका दिएकोमा दोषी ठहर गरिएको छ ।
उनी यसअघि पनि पटकपटक ठगी मुद्दामा पक्राउ परेका थिए । त्यसपछि उनलाई २० लाख जरिवाना गरिएको थियो । उनी दुई पटक हिरासतबाट भागेका पनि छन् । गिब्लिन धेरै वर्षदेखि यो ठगीमा संलग्न रहेको अभियोजकहरूले बताएका छन् । उनले पहिले महिलाहरूलाई भावनात्मक रूपमा नियन्त्रण गर्थे र त्यसपछि लोभ र दबाब प्रयोग गरी पैसा असुल्ने गर्थे। यस क्रममा उनले सबै चाल अपनाए ।
कोही महिलालाई उनले आफूलाई न्यायाधीशको छोरा भनेका थिए भने कसैलाई निकै धनी व्यक्ति । केही महिलाहरूलाई गिब्लिनले आफू आर्थिक संकटबाट गुज्रिरहेको बताउने गरेका थिए। तर यथार्थमा त्यो सबै झुट थियो । उनलाई जुवा खेल्ने लत थियो । पैसा ठगी गरेर आफैं खर्च गर्थे । उनलाई व्यावसायिक अपराधीको रुपमा व्याख्या गरिएको छ ।