ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबल बाट बाहिरीएको छ । आज भएको क्वाटरफाइनल खेलमा क्रोएसिया संग पराजित हुदै ब्राजिल बाहिरिएको हो । जित संगै साविक उपविजेता क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
केहिबेर अघि सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे ।ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे ।तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुकेका थिए ।