मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले उपाधी दाबेदार मानिएको स्पेनलाई पाखा लगायो । केहिबेर अघि सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोन भने गोल गर्न चुके ।
पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ । पूर्व विजेता स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।