रोल्पाका सुन्तला दाङका बजारमा बिक्री — OSNepal

रोल्पाका सुन्तला दाङका बजारमा बिक्री

LC (KTM) December 04, 2022 0

रोल्पा-रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आउनुभएको छ । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुग्नुभएको हो । रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडाखर्च गरेर दाङ आउनुपरेको उहाँले बताउनुभयो ।

घोराहीमा मासिक रु आठ हजारमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थाल्नुभएको छ । उहाँले रु चार सय ५० सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताउनुभयो ।

गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो । फल राम्रोसित लागेको थिएन । यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताउनुभयो । “रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो”, उहाँले भन्नुुभयो । गत वर्ष रु आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ ।

रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ । व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता बुढामगरसित छ । स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो । लामो समयसम्म भण्डारण गरेर राखे पछि महङ्गोमा बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताउनुभयो । खुद्रामा प्रतिकिलो रु ८० मा सुन्तला बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर