कफीको माग बढ्दै गएकोले खेती प्रवद्र्धनका लागि ध्यान दिनुपर्छ — OSNepal

कफीको माग बढ्दै गएकोले खेती प्रवद्र्धनका लागि ध्यान दिनुपर्छ

LC (KTM) December 02, 2022 0

विदुर- विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’ भन्ने मूल नाराका साथ १८औँं राष्ट्रिय कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीले नेपालको आर्थिक विकासका लागि कफी कोसेढुङ्गा हुने बताएका हुन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले नुवाकोटमा पछिल्लो समय कफी उत्पादनमा वृद्धि भइरहेको र यसको क्षेत्र विस्तारमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । “सन् २००८ देखि नुवाकोटमा व्यवस्थित कफी उत्पादन हुन थालेको हो । अहिले नुवाकोटको कफी विदेश निर्यात् हुनथालेको रहेछ । यो खुशीको कुरा हो”, उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, “खेती प्रवद्र्धनका लागि ध्यान दिनुपर्छ । किसानलाई थप हौसलाको खाँचो रहेको छ ।”

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले स्थानीय सरकारले विकासको बजेट बाटोमा मात्र नभई माटोमा पनि लगानी गरे कफी खेतीको विकास र प्रवद्र्धन हुने बताउनुभयो । उहाँले नेपालको कफीको विदेशमा समेत उच्च माग भएकाले किसानले यसको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । “कफी नेपालको विदेशी मुद्रा भित्र्याउने वस्तु हो । गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ, विदेशमा जति पनि बिक्री हुन्छ । नेपालको आर्थिक उन्नतिका लागि कफी उत्पादन एउटा प्रमुख खेती हो”, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष केशरबहादुर सिटौलाले किसानलाई उपयुक्त प्रविधि र प्रशिक्षणको खाँचो रहेकोले बोर्डले अहिले यसैमा केन्द्रित भएर योजना ल्याएको बताउनुभयो ।

नेपालमा अहिले तीन हजार तीन सय ४३ हेक्टर जमीनमा कफी खेती हुँदै आएको छ । गत आर्थिक वर्षमा तीन सय ५५ मेट्रिकटन कफी उत्पादन भएको र यसको २० प्रतिशत कफी विदेशी बजारमा बिक्री भएको बोर्डले जनाएको छ ।

नेपालमा विसं १९९५ हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेती सुरु भएको बोर्डले जनाएको छ ।

बोर्डले मङ्सिर १ गतेदेखि लागू हुने काँचो कफीको न्यूनतम सहमत मूल्य पनि तोकेको छ । ए ग्रेडको फ्रेस चेरी कफी प्रतिकिलो रु ९५, बि ग्रेडको रु ८५, ए ग्रेडको पार्चमेन्ट कफी रु चार सय ७५, बि ग्रेडको रु चार २०, ए ग्रेडको ड्राई कफी प्रतिकिलो रु एक सय ७० र बि ग्रेडको ड्राई कफीको मूल्य प्रतिकिलो रु एक सय १५ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर