काठमाडौँ-विकास र समृद्धिको यात्रामा पछाडि परेको कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रतिस्पर्धाको राजनीतिमा तेस्रो जीत निकाल्दै सङ्घीय सांसदमा चुनिनुभएको छ ।
नेकपा(माओवादी केन्द्र)का प्रभावशाली युवा नेता शाहीले चलचल्तीको भाषामा ‘ह्याट्रिक’ गर्नुभएको छ । उहाँले २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, २०७४ सालमा कालीकोटबाट प्रदेशसभा सदस्यका रुपमा निर्वाचित भई कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर पाउनुभयो । यसपटक यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उहाँले वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट उम्मेदवार भई फराकिलो जीत हासिल गर्नुभएको छ ।
पूर्वऊर्जामन्त्रीसमेत रहनुभएका शाही तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धको शुरुआती कालदेखि नेता हुनुहुन्छ । तत्कालीन माओवादीको जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत रहनु भएका नेता शाही कालीकोटमा मात्रै नभई समग्र कर्णाली प्रदेशमै स्थापित नेता हुनुहुन्छ ।
विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उहाँले नेकपा(एमाले)का कुर्मराज शाहीलाई पराजित गर्नुभएको थियो । विसं २०७४ मा भएको निर्वाचनमा उहाँले प्रदेशसभा सदस्यमा कांग्रेसका कालिबहादुर सहकारीलाई दुई हजार आठ सय मतले पराजित गर्नुभयो ।
मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता शाहीले कूल २४ हजार चार सय ३७ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेशनलले १६ हजार दुई सय ३० मत प्राप्त गर्नुभयो ।
कर्णाली प्रदेशको पनि पछाडि परेको कालीकोटमा लगातार उहाँको विजयले मुलुकको राष्ट्रिय राजनीतिमा कर्णालीको सबल नेताका रुपमा शाहीलाई स्थापित गरिदिएको छ । त्यसो त कालीकोटबाट लगातार जीत निकाल्ने सीमित नेतामध्ये शाहीको नामसमेत अङ्कित भएको छ ।
जानकारका अनुसार यसअघि पञ्चायत कालमा रास्कोटका धर्मदत्त उपाध्याय लगातार तीन पटक सांसद हुनुभएको थियो । विसं २०४६ को आन्दोलनपछि स्थापना भएको बहुदलीय प्रजातन्त्रसमेतमा कुनै पनि नेताले लगातार विजयी हुने अवसर पाएका थिएनन् ।
कालीकोटको इतिहासमा २०४८ सालमा नेपाली कांग्रेसका तिलक न्यौपाने, २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने, २०५६ मा एमालेकै प्रेमबहादुर सिंह र २०६४ मा गणतन्त्र स्थापनापछि पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा माओवादीका खड्गबहादुर विश्वकर्माले जीतको नाम लेखाउनुभएको थियो ।
माओवादीका पोलिटब्यूरो सदस्य शाही कालिकोटको पचालझरना गाउँपालिका नौ साविकको नानीकोट गाविस–८ मा २०३३ साल माघ १५ गते बुवा लालबहादुर शाही र आमा रणकौंडा शाहीको दोस्रो सन्तानका रुपमा जन्मिनु भएको हो । उहाँले २०४८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र)को सदस्यता लिनुभयो । माओवादी जनयुद्धमा उहाँ पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गर्नुभएको थियो ।
नेता शाहीले सेना समायोजनको क्रममा राजनीतितर्फ लाग्ने निर्णय गर्नुभयो । संविधानसभा सदस्यका रुपमा उहाँले तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने मध्येका एक हुुनुहुन्छ । संविधानसभा सदस्य एवम् ऊर्जामन्त्री र कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री शाहीले पछाडि परेको कालीकोटलाई विकास र समृद्धिको यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ ।