जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षमा पोखरा महानगरपालिकाले बनायो १३७ किमी सडक कालोपत्र — OSNepal

जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षमा पोखरा महानगरपालिकाले बनायो १३७ किमी सडक कालोपत्र

LC (KTM) June 30, 2021 0

कास्की, १६ असार – स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले हालसम्म १३७ किमी सडक कालोपत्र र २३१ किमी सडक ग्राभेल गरिएको जानकारी दिनुभयो । यसैगरी ८३ किमी साना तथा मझौला सडक ढलान र ३७ किमी सडक मर्मत एवं स्तरोन्नति गरिएको उहाँले बताउनुभयो ।

चार वर्षको अवधिमा वडा तथा महानगरपालिकास्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्र एवं मर्मत योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नति र ४१ नयाँ ट्र्याक गरी एक हजार ४२१ सडकका योजना सम्पन्न भएको बताइन्छ । महानगरको मुख्य शहरी सडकको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा रु ४० करोड लागतमा २२ किमी सडक ‘अस्फाल्ट कङ्क्रिट’ गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले जानकारी दिनुभयो । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको बताइन्छ ।

प्राविधिक कारणले रोकिएको मेयर नमूना सडक निर्माणअन्तर्गत पोखरा– १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण भइरहेको छ भने वडा नं १० को राममार्ग सडक निर्माण कार्य गरिएको महानगरले जनाएको छ । यसैगरी नदी नियन्त्रणतर्फ यस अवधिमा नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रणलगायतका २७ योजना सञ्चालन गरिएको बताइन्छ । सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली खोलालगायत नदी नियन्त्रणका योजना सम्पन्न भएको जनाइएको छ ।

महानगरले वडाका भवन निर्र्माणलाई पनि प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ । हालसम्म वडा नं २, ७, ११, १२, १९, २२, २८, २९, ३० र ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको तथा केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।वडा नं ३, ४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको तथा वडा नं ५, ६, ८, ९, १४, १७ २०, १८, २६, २७ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएकाले यी भवन निर्माण सकिएपछि नागरिकले वडास्तरबाटै सहज रुपमा सेवा प्राप्त गर्ने प्रमुख जिसीले जानकारी दिनुभयो ।

यसैगरी ४३ वर्षदेखि सडक चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको महानगरले जनाएको छ । महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकमा बहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेका र चालु आवमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई रु ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको बताइन्छ ।यसैगरी बैदाम, पामे, घाँटीछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको महानगरले जनाएको छ (रासस)
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर