अनुसा थापा- पछिल्लो केही समययता सहकारी संस्थाहरु एकदमै समस्या देखिएको छ । बचतकर्तालाई फिर्ता गर्ने पैसा नहुँदा सहकारीका कर्मचारीहरु विभिन्न बहाना बनाएर उनीहरुलाई रित्तो हात फर्काउँदै छन् । पल्लो घरमा बत्ती हुँदाहुँदै पनि कर्मचारीहरु बत्ती छैन् भनेर बहानाबाजी गर्छन् । कहिले नेट छैन् त कहिले चेक प्रमाणित गर्ने व्यक्ति आएका छैनन् भन्दै उनीहरु फर्काउने गरेका छन् । अचेल त सहकारीको क्यास काउण्टरमा बस्ने कर्मचारी पनि दिनहुँ फरकफरक देखिन्छन् । आज एउटा कर्मचारी हुन्छ, भोलि अर्कै । पैसा छैन् नभन्ने तर एक एक वटा बहाना बनाएर फर्काइदिन्छन् । कहिले हस्ताक्षर मिलेन् भन्छन्, कहिले मिति । सहकारीका कर्मचारीहरुले पैसा लिन आएकालाई अल्मलाउने काम मात्र गरिरहेका छन् । सहकारीमा डिपोजिट राख्ने शून्य झैं छ, पैसा निकाल्नेको लामो लाइन छ ।
कर्मचारीहरु अध्यक्ष बाहिर गएको र फर्किन एक हप्ता लाग्ने भन्दै दुःख दिने काम गरिरहेका छन् । यता, अध्यक्षहरु भने घरमा हुँदाहुँदै पनि कार्यालय आँउदैनन् । तीन महिना अघि नै बिहेका लागि पैसा चाहिन्छ भनेर सुसूचित गराउँदा पनि सहकारीले पैसा दिएन् । पैसा नहुँदा कतिपयको बिहे नै रोकिएको छ । बाबुआमा अस्पतालमा भर्ना गरेकालाई पनि उत्तिकै कठिनाइ झेल्नुपर्यो । उपचार गर्ने पैसा नभएर ऋण खोज्नुपर्यो । आवश्यक परेको बेला चाहिन्छ भनेर सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले नपाउनुसम्म हैरानी पाएका छन् । सहकारीका अध्यक्षहरुले बजारबाट जसरी भएपनि पैसा ल्याउन दबाब दिने गरेको कर्मचारीहरु बताउँछन् । जति प्रतिशत ब्याज दिएर पनि पैसा लिएर आउन बजार प्रतिनिधिहरुलाई दबाब दिएको पाइन्छ ।
बजारबाट पैसा उठाइरहेका छन्, तर फिर्ता गर्दैनन् । यता, बचतकर्ताहरुले ब्याजसमेत पाइरहेका छैनन् । सहकारीका कर्मचारीहरु महिनौंदेखि तलब पाउन नसकेको गुनासो गर्छन् । लिनचाँहि घरमै पुग्छन्, निकाल्न जाँदा चाँहि दिँदैनन् । सहकारीहरुले यसरी जनतालाई फसाएको छ कि त्यो दलदलबाट निस्किन मुश्किल छ । सहकारीहरुले जनताको बिल्लीबाठ बनाएको छ । टाउकोमाथि भएको छत उजाडिएको छ । सहकारीका कारण जनताका आँखा टिलमिल भएका छन् । सहकारीभित्रको लथालिङ्ग अवस्थाबारे बाहिर भनेको खण्डमा अप्ठ्यारोमा पारिदिने भन्दै धम्काउने गरेको बताइन्छ । भोलि अन्त जागिर नपाइएला, पाकेको तलब पनि गुमाउनुपर्ला भन्ने डरले सहकारीका कर्मचारीहरु मौन बसेका छन् । सहकारीमा काम गर्ने कर्मचारीले न तलब पाएका छन् न स्वतन्त्र रुपमा बोल्न पाएका छन् ।
जागिर छोडौं तीनदेखि ६ महिनाको तलब माया मार्नुपर्छ । यता, खाता खोल्न लगाएका कर्मचारीलाई त पैसा राख्नेलाई छोड्दैनन् । सहकारी भाग्नेबित्तिकै बजार प्रतिनिधिहरुको कठालो समात्न आइहाल्छन् । सहकारी डुब्ने थाहा पाइसकेका कतिपय कर्मचारीले पैसा निकाल्न सुसूचित पनि गराएका छन् । भोलि सञ्चालक भाग्यो भने आफू अप्ठ्यारोमा पर्ने डरका कारण कतिपयले इमान्दारिता पनि देखाएका छन् ।
कतिपय सहकारीका बजार प्रतिनिधिहरुले बजारबाट पैसा उठाएका छन् तर सहकारीमा लगेर बुझाउँदैनन् । उनीहरुले त्यही रकमबाट आफ्नो तलब लिएका छन् । तिनलाई नि खानैपर्यो, कोठा भाडा तिर्नैपर्यो । भोलि डुबेपनि बचतकर्ता डुब्ने हो, आफू नडुबे भइहाल्यो भन्नेहरु पनि छन् । सहकारीका कर्तुत यसरी भण्डाफोर भइरहँदा पनि सरकार किन मौन छ ? सहकारीले त जनतालाई सोत्तर बनाएको छ ।
महिनौं दिन बितिसक्दा पनि जनताले आफूले राखेको पैसा पाउन सकेका छैनन् । बस् जान र आउनको दुःख मात्र भइरहेको छ । जनताहरु थकित भइसकेका छन् । ९२ लाख सर्वसाधारणको १५ खर्ब रुपैयाँ जोखिममा छ । ३५ हजार २३९ वटा सहकारीमा भएको रकम जोखिममा परेको छ । बाटोमा मकै पोल्नेदेखि लिएर नाङलामा व्यापार गर्नेसमेतको सहकारीमा खाता छ ।
नेता, सरकारी जागिरे, सञ्चारकमीहरु समेत बढी ब्याजको लोभमा परेको देखिएको छ । खुट्टामा चप्पल नलाएका जनता त्यो भीडमा आफ्नो पैसा निकाल्न दौडधुप गरिरहेका छन् । सहकारीभित्र बेतिथिको चाङ हुँदा पनि स्थानीय सरकार किन हात बाँधेर बसेको छ ? सरकारले सहकारी नियमन गर्ने अधिकार अहिले जनप्रतिनिधिलाई दिएको छ । सहकारी दर्तादेखि लिएर अनुगमन गर्ने जिम्मा स्थानीय सरकारले पाएको छ । तर, स्थानीय सरकार केलाई विकृतिको रमिते बनेर बसेको छ ? जनताको पैसा डुबेको छ, जनप्रतिनिधिहरु टुलुटुलु हेरेर बसेका छन् । न अनुगमन छ न कारबाही । सहकारीका सञ्चालकसंग जनप्रतिनिधिहरुको पनि मिलोमतो छ भन्ने कुरा यहीबाट स्पष्ट हुन्छ । सर्वसाधारणहरु आफ्नो पैसा डुब्दा निराश भएका छन् । आफ्नो जिन्दगीभरको मेहिनेत दाउमा छ ।
वडाध्यक्ष, मेयर, प्रहरी प्रशासन कसैले पनि आफ्नो कुराको सुनुवाई नगरेको जनताहरुको गुनासो छ । यता, सहकारी विभागले समेत बेवास्ता गरेको उनीहरुको आरोप छ । आफ्नो बचत फिर्ता लिन कसैले पनि साथ सहयोग नगरेको सर्वसाधारण बताउँछन् । सहकारीमा बचत भएकाहरुको रातको निद्रा र दिनको भोक हराइसकेको छ । उनीहरुले आफ्नो पैसा फिर्ता आँउदैन् भनेर थाहा पाइसकेका छन् ।
उनीहरुसंग रुने, कराउने र चिन्ता लिनेबाहेक अन्य विकल्प छैन् । कतिपयले आफुसंग भएको पासबुक सहकारीमा बुझाइसकेका छन् । पुराना खाता बन्द गर्ने क्रम ह्वात्तै बढेको छ, नयाँ खाता खोल्ने शुन्यझैं छन् । विगत दुई दशकदेखि सहकारीले ठगीधन्दा मच्चाएको थियो । जुन विस्तारै विस्तारै पर्दाफास हुँदैछन् । सहकारीले जनतालाई रुवाउनुसम्म रुवाएको छ ।
सहकारी लुट, ठग र चोरले चलाएको संस्था हो भनेर जनताले थाहा पाइसकेका छन् । सहकारीका सञ्चालक, अध्यक्षहरु अब धमाधम भाग्ने छन् । यिनीहरु देश छोडेर कुलेलम ठोक्न सक्छन् । सरकारले तत्काल यिनीहरुको पासपोर्ट रोक्का राख्नुपर्छ । विदेश जान रोक लगाउनुपर्छ । वडा, नगरपालिका र प्रहरी प्रशासनले सहकारीका सञ्चालकहरुमाथि निगरानी बढाउनुपर्छ ।
आफ्नो पैसा जोगाउनका लागि सर्वसाधारणहरु सशक्त हुनुपर्छ । सहकारीको कार्यसमितिमा बस्नेमाथि कडा नजर राख्नुपर्छ । आँखा झिम्कियो कि पैसा डुब्यो भन्दा पनि फरक नपर्ला । सहकारीहरु एकदमै नाजुक अवस्थामा छन् भनेर त सबैले अवश्य पनि थाहा पाइसकेका होलान् । ब्याजको लोभमा परेर सहकारीहरु पैसा राख्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो । सहकारीका सञ्चालकहरुले बजारबाट लगानी नउठेको भन्दै बचतकर्तासंग समय मागिरहेका छन् । कसैले तीन महिना कसैले एक वर्षसम्म समयको माग गरिरहेका छन् । उनीहरुले रकम फिर्ता गर्न होइन्, कुलेलम ठोक्नचाँहि समय मागेको हुन् । कतिपय सहकारी भित्रभित्रै चुलुम्मै भइसकेका छन् । तर, आफ्नो सहकारीको भवन भएको भन्दै उनीहरुले बचतकर्तालाई अल्मलाइरहेका छन् ।
कतिपय सहकारीले ब्याज दिन नसकेपनि सावा दिने आश्वासन बाँडिरहेका छन् । त्यसका लागि पनि समय माग गर्ने काम भइरहेको छ । सर्वसाधारणले ब्याज चाँहिदैन्, सावा फिर्ता दिन भनिरहँदा पनि पाएका छैनन् । चिया, कफी खुवाएर हुन्छ कि चिम्लो कुरा गरेर सर्वसाधारण फसाउने काम भइरहेको छ । पैसा राख्नेहरुलाई एकजुट हुन दिँदैन् । एउटालाई एउटा बहाना र अर्कोलाई अर्कै बहाना बनाएर पठाउने काम भइरहेको छ ।
लगानी गरेका छौं भन्छन् तर केमा लगानी गरेका छौं खुलाउँदैनन् । आफ्नो सहकारीमा यति जनताको यति रकम छ भनेर उनीहरुले सरकारलाई विवरण दिँदैन् । सत्यतथ्य बाहिर आउने डरले पनि सरकारलाई अँध्यारोमा राख्ने काम भइरहेको छ । सहकारीमा भइरहेको गतिविधिबारे बुझ्न खोज्यो भने कि आफू व्यस्त भएको बताउँछन् कि त फोन नै बन्द हुन्छ । पैसा राख्नेहरुसंग भागेका हिँडेका छन्, सञ्चारकर्मीको आँखामा पर्दैनन् ।
जनप्रतिनिधिहरुलाई प्रलोभनमा राखेर आफ्नो पक्षमा राखेका छन् । सहकारी विभाग स्थानीयलाई अधिकार दिइसकेको बताउँछ । जनप्रतिनिधिहरु सहकारी विभागकै काम भएको दाबी गर्छन् । एकले अर्कालाई देखाएर पन्छिने काम गरिरहेका छन् । एउटा कुटेजस्तो गर्छ अर्को रोएको नाटक गर्छ । दुःख पाउने जनता मात्र हुन् । आफ्नो कामधन्दा छोडेर सहकारी धाउन ठिक्क भएको छ, सर्वसाधारणलाई । सर्वसाधारण सहकारी विभागप्रति आक्रोशित भएका छन् । विज्ञापन बोर्डले सहकारीमा पैसा नराख्न भनेर जनतालाई पहिले नै सचेत गराएको थियो । तर, सहकारी विभाग त्यतिखेर सहकारी संस्थाको पक्षमा उभियो । जसको नतिजा क्रमिक रुपमा देखा पर्दैछ । विभागले बोर्डको विरोध गर्नुको साटो आज यत्रो जनता डुब्दैन थिए । विभाग आफैंले जनता डुबाउने काम गर्यो । जनताले आँखाबाट आँशु झर्दा पनि विभागका कर्मचारी अनदेखा गर्छन् । सहकारीविरुद्ध सशक्त कदम चाल्न आवश्यक देखिएको छ । सञ्चारकर्मीहरुले पनि ठग सहकारीको विरोधमा कलम चलाउनुपर्छ ।