काठमाडौं क्षेत्र नम्बर ४ स्थित मैतिदेबी मतदान केन्द्रमा नेपालको लागी अमेरिकी राजदुत Dean R. Thompson (डिन आर. थोम्पसन) मतदान स्थल अवलोकन गर्नुहुदै ।तस्वीर : मेघनाथ पहाडी (रासस):
यो पनि:अध्यक्ष तिमिल्सिनाद्वारा मतदान-राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उहाँले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गर्नुभयो । पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्लाभर मतदान प्रक्रियाको शुभारम्भ गर्नुभएको छ । उहाँले कुश्मा नगरपालिकास्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुआत गर्नुभएको हो ।
यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविवाट मतदान गर्नुभएको छ भने प्रदेशसभातर्फ क्षेत्र नं १ मा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका–५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठबन्धनका उम्मेदवार सुदीप कुँवरले कुश्मा–१२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा क्षेत्र २ का उम्मेदवार मित्रलाल बस्यालले पैंयु–४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र अर्का उम्मेदवार ऋषिकेश तिवारीले फलेवास–४ मा रहेको माटेदेवल माविबाट मतदान गर्नुभएको छ ।
जिल्लामा निर्वाचनका लागि कूल ७६ मतदानस्थलका एक सय ५० मतदान केन्द्र तय गरिएका छन् । यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार छ सय ५१ पुरुष र ६१ हजार नौ सय ९८ महिला गरी कूल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदानस्थल अतिसंवेदनशील, ३१ मतदानस्थल संवेदनशील र १० मतदानस्थललाई सामान्य सूचीमा वर्गीकरण गरेको छ ।