काठमाडौं । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा मङ्गलबारदेखि थप खुकुुलो पारिएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढेको हो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन् । मुख्य बजार क्षेत्र बिहान ११ बजेदेखि खुला गरिएको छ । बजार तथा पसलमा ग्राहकको चाप न्यून रहे पनि व्यापारी सामान सजावट र सरसफाइमा व्यस्त देखिन्थे । यातायात सेवामा लागू गरिएको जोर–बिजोर प्रणालीका कारण पनि सडकमा बस कम गुडेको यातायात व्यवसायी बताउँछन् । सर्वसाधारण यात्रुको चाप पनि न्यूून देखिएको छ ।
मयूर यातायातका सञ्चालक मोहन बस्नेतका अनुसार दुुई महिनादेखि थन्किएका गाडी मर्मत र सरसफाइ गर्नुपरेकाले पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका हुन् । बसहरू सञ्चालनमा आए पनि यात्रुको चाप निकै कम देखिन्छ । उपत्यकाको सडकमा शुभकामना, मयूर, चन्द्रागिरि, नेपाल, महासागर र सिटीलगायत बस सञ्चालनमा आएका छन् । साझा यातायातको बस भने बुधबारबाट सञ्चालनमा आउने छ । निजी कार, ट्याक्सी, मोटरसाइकल र बसलगायतका यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । माइक्रो र मिनीबसलाई भने चल्न दिइएको छैन ।
नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला सार्वजनिक सवारी सञ्चालनमा विभेद भएको बताउँछन् । उनले सबैलाई चलाउन दिनुुपर्छ, कसैलाई न्याय र कसैलाई अन्याय गर्नु हुँदैन भने ।