नेपाली दुतावास डिसीमा सुर-सुधा समूहको बेजोड प्रस्तुति ,कूटनीतिक निकायका अतिथिहरूले लिए भरपुर मनोरंजन — OSNepal

नेपाली दुतावास डिसीमा सुर-सुधा समूहको बेजोड प्रस्तुति ,कूटनीतिक निकायका अतिथिहरूले लिए भरपुर मनोरंजन

LC (KTM) November 12, 2022 0

विजय थापा । अमेरिकाको भ्रमणमा रहेको नेपालको चर्चित सुर-सुधा समूहले नेपाली दुतावास वाशिंगटन डिसीमा सांगीतिक साँझ कार्यक्रममा बेजोड प्रस्तुति गरेको छ । गत नोभेम्बर १० बिहिबारका दिन दुतावासमा आयोजना गरिएको सुर-सुधा समूहको सांगीतिक टोलीको प्रस्तुतिले कूटनीतिक निकायका अतिथिहरूलाई भरपुर मनोरंजन प्रदान गरेको छ ।

सुर-सुधाको उत्कृष्ट प्रदर्शनमा अतिथिहरुले कर्तलध्वनि बजाई सम्मान समेत गरेका थिए । नेपाल र संयुक्त राज्य अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा दूतावासले अमेरिकी सरकारका विभिन्न विभाग, कूटनीतिक निकाय वाशिङटन, डीसी र कूटनीतिक निकायका अतिथिहरूका बीच पौराणिक नेपाली शास्त्रीय संगीत मण्डली (ब्यान्ड) सुर सुधा समूहको सांगीतिक साँझको आयोजना गरेको थियो।

बिहिबार साँझ दुताबासना आयोजना गरिएको सुर सुधा समूहमा कलाकारहरुमा तबलामा संस्थापक तथा प्रमुख सदस्य सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमण महर्जन, गितारमा विकास सुनार र स्वरमा सरस्वती खत्रीले प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा नेपालका लागि पूर्व राजदुत स्कट डेलिसी लगायत अन्य राजदुतहरुको पनि उपस्थिति रहेको थियो । अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्रीले सबै अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रम पश्च्यात रात्री भोजनको समेत आयोजना गरिएको थियो ।

डेलिसीले सुर-सुधाको प्रस्तुतिलाई मुक्त कण्ठले प्रशंसा गरेका थिए । सुर-सुधा समूह अमेरिकाको विभिन्न राज्यहरुमा नोभेम्बरको अन्त्य सम्म आफ्नो प्रस्तुति गर्ने छन ।

अमेरिकाको विभिन्न राज्यहरुमा प्रस्तुति गर्ने सिलसिलामा गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्ग स्थित हिमालयन हेरिटेजमा सुर सुधाले अद्वितीय प्रस्तुति गरेको थियो ।

सुर सुधाले बिगत तीन दशक देखि बिश्वभरि नेपाल र नेपालीको पहिचान गराउदै संसारका बिभिन्न मुलुकहरुमा संगीत प्रस्तुत गरि नेपालको नाम उच्च राख्न सफल भएका छन् । प्रारम्भमा शास्त्रीय संगीत मात्र प्रस्तुति गर्दै आएको सुर सुधाले धेरै बर्ष देखि गीत गाउने कलाकारहरुलाई समेत जोडेको छ ।

गत बुधबार भर्जिनियाको फ्रेडिक्सबर्गमा नेपालको लागी पूर्ब अमेरिकी राजदूत स्कट डेलिसीको सहयोगमा अमेरिका नेपाल सोसाइटी (एएनएस )को संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर