दाङमा साना कृषि औजारको प्रयोग बढ्दै, खेत जोत्न, बोक्न र दाउन ट्र्याक्टर भित्रिए — OSNepal

दाङमा साना कृषि औजारको प्रयोग बढ्दै, खेत जोत्न, बोक्न र दाउन ट्र्याक्टर भित्रिए

LC (KTM) November 01, 2022 0

घोराही-जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय दाङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा यस्ता औजारको प्रयोगले खेती गर्न सहज हुनाका साथै किसानहरु खुसीसमेत भएका छन् । परिवार सानो भएर खेती गर्न समस्या भइरहेका बेला कृषि औजारको प्रयोगले खेती गर्न सहज भएको घोराही उपमहानगरपालिका–७ निवासी किसान कल्लुराम चौधरीले बताउनुभयो । काम गर्न सजिलो हुनाका साथै प्रविधिको प्रयोगले उत्पादनसमेत वृद्धि भएको उहाँको भनाइ थियो । “पहिले परम्परागत तरिकाले खेती गथ्र्यौं, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो”, किसान चौधरीले भन्नुभयो, “पछिल्लो समय साना कृषि औजारको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुन थालेको छ ।”

साना कृषि औजारको प्रयोगमा वृद्धि भएसँगै कृषि पेसालाई सहज बनाई दिएको उहाँले बताउनुभयो । थोरै लगानीमा सहजै धेरै खेती गर्न सकिने भएपछि पछिल्लो समय कृषि पेसामा साना औजारको आकर्षण बढ्दै गएको छ । विगत चार वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेत जोत्ने काम पनि गर्दै आउनुभएका चौधरीले भन्नुभयोे, “आफू वृद्ध भएसँगै छोराहरु छुट्टिएर सानो परिवार भएको बेला खेती कसरी गर्ने भन्ने समस्या थियो तर गाउँमा खेत जोत्न, बोक्न र दाउन ट्र्याक्टर भित्रिएपछि समस्या हटेको छ ।”

कृषिमा काम गर्ने मानिसको अभावमा खेतबारी बाँझो भइरहेको समयमा कृषि यन्त्रको प्रयोगले किसानलाई सजिलो हुनाका साथै उत्साहित बनाएको घोराही उपमहानगरपालिका–५ भैसापथ्रा निवासी किसान भीमबहादुर भण्डारीले बताउनुभयो । “गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन्, त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन्”, उहाँले भन्नुभयो, “यस्तो अवस्था अधिकांशको खेत बाँझै रहने अवस्था थियो तर गाउँमा जोत्नका लागि ट्र्याक्टर र दाउनका लागि थ्रेसर भएपछि अधिकांशले खेती गर्न थालेका छन् ।” किसानका लागि कृषि औजारले निकै राहत मिलेको उहाँको भनाइ थियो । किसानलाई खेत जोत्नदेखि उत्पादन भएको अन्नबाली घरभित्र भित्र्याउनका लागि प्रविधिको सहयोग हुन थालेपछि पछिल्ला वर्ष किसान स्वयम् कृषि उपकरणको प्रयोगमा आकर्षित हुँदै गएका छन् ।सरकारी निकायले कृषि उपकरणको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएकाले किसानमा यसको महत्व बढेको हो ।

राज्यले कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई कृषि पेसामा आकर्षित गर्न प्रोत्साहन दिने गरी किसान लक्षित दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने घोराही उपमहानगरपालिका–५ भैसापथ्रामा कृषि वयवसायी मोहन वलीले जोड दिनुभयो। व्यावसायिकरुपमा कृषि व्यवसायमा लागेका कृषकहरुसँगै स–साना किसानहरुलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन सके कृषि उत्पादनमा वृद्धि हुनाका साथै रोजगारीका लागि बाहिर जाने युवाहरुलाई रोक्न सकिने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर