काठमाडौं, १५ कात्तिक : मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ ।
राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।
यो पनि पढ्नुहोस् : एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् । एमालेले ‘समृद्व नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।