मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृषक किवी खेतीतर्फ — OSNepal

मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कृषक किवी खेतीतर्फ

LC (KTM) October 28, 2022 0

भोजपुर -भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको भनाइ छ । एकपटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुङ्गिन, वडा नं ५ को मझौले, पौवादुङमा गाउँपालिका, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यवसायिक खेती गरिरहेका छन् ।

केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ । नागीका नविन राईले एक सय ५० भन्दाबढी बिरुवा लगाएर यसको व्यावसायिक खेती गरिरहेको बताए । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताए । आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमै खपत हुने र बाँकी बाहिरी जिल्लामा बिक्री गर्दै आएको राईले जानकारी दिए । किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा स्थानीय बजारमा बिक्री गर्दै आएको राईको भनाइ छ ।

नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हुँदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ । ‘‘मैले खेती गर्न थालेपछि अन्य साथीको पनि यसतर्फ आकर्षण बढेको छ । सडकको पहुँच वृद्धि भइरहेको छ । आगामी दिनमा बजारीकरणसमेतमा थप सहजता हुने आशा बढेको छ’’, कृषक राईले भने । त्यस्तै टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयबासी एकराज विष्टले पनि किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब सात रोपनी क्षेत्रमा गत वर्षबाट किवी खेतीको विस्तार थालेको बताए । विष्टले भने, ‘‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको छु । फल लिनको लागि तीनदेखी चार वर्षसम्म लाग्छ । तर अन्यबालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । म धेरै वर्ष विदेशमा बसेर अहिले नेपालमै किवीको खेतीमा लागेको हुँ ।’’

किवी खेतीबाट सोचेजस्तो आम्दानी लिन सुरुमा जमिन तयार गर्दा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ । पहिलो पटक खेती विस्तार गर्ने कृषकले कृषि प्राविधिक अथवा अनुभवी कृषकको सल्लाह लिनुपर्ने उनले बताए । कृषक विष्टले भने, ‘‘खास गरेर किवीको विरुवा हिउँद महिना अर्थात पुसदेखि माघ अन्तिमसम्म लगाउन उपयुक्त हुन्छ । विरुवा विस्तार गर्नुपूर्व तीनदेखी चार फिट गहिराई र सोही बराबरको चौडाइमा प्राङ्गारिक मल कुवाएर लगाएमा राम्रो फस्टाउँछ ।’’

उत्पादित किवीको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानको भनाइ छ । ‘‘किवी किसानको आर्थिक अवस्था सुधारमा टेवा पु¥याउने बाली हो । एक पटक राम्रो परिश्रम गरेर विस्तार गर्न सकियो भने यसबाट धेरै वर्ष सहजरुपमा आम्दानी लिन सकिन्छ । त्यसैले यसको थप विस्तारमा राज्यले सहयोग गर्न आवश्यक छ । धेरै मात्रामा उत्पादन गर्न सकियो भने बिक्री वितरण गर्न खासै समस्या छैन,’’ किसान विष्टले भने । स्थानीय कृषक रत्न बहादुर विष्टले भने, ‘‘किवीको राम्रो जातको पहिचान गरेर लगाउन सकियो भने एक बोटबाट एक सयदेखि एक सय ५० किलोसम्म फलाउन सकिन्छ । यसबाट वर्षमा चारदेखि पाँच लाख रुपैँयासम्म कमाउन सकिने युवा बताउँछन् । किवी एक हजार पाँचसय मिटरदेखी दुई हजार चारसय मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर