कोरोनाको मापदण्ड पालनामा हेलचक्र्याई, बढ्यो जोखिम — OSNepal

कोरोनाको मापदण्ड पालनामा हेलचक्र्याई, बढ्यो जोखिम

LC (KTM) October 27, 2022 0

अनुसा थापा

यतिखेर सबैतिर तिहारको माहौल छ । बजारमा एकदमै भीड देखिन्छ । काठमाडौंका व्यापारिक केन्द्रहरुमा खुट्टा हाल्ने ठाँउ छैन् । यता, आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा भोट माग्न घरदैलो गर्ने उम्मेदवारको पनि लर्को छ । पूरै समूह नै लिएर भोट माग्न घरदैलो कार्यक्रम गरिरहेको पाइन्छ । घरदैलो गर्ने आउनेले मुखमा मास्क पनि लगाएका छैनन् । यता, सामाजिक दुरीको पालना त कायाकल्पको कुरा रह्यो । व्यापारिक केन्द्रतिर एकअर्काबीच ठेलमठेल नै हुन्छ । यस्तो हुँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट सचेत रहन सूचना जारी गरेको पाँइदैन् । कोरोना अझै पनि कायमै छ, यसबाट सचेत रहौं भनेर मन्त्रालयले सचेतना जगाउने कार्यक्रम पनि ल्याएको छैन् । पछिल्लो दिनमा कोरोनाको दर फेरिपनि उकालो लाग्न थालेको छ । दिनहुँ एक–दुई जनाले अकालमा ज्यान गुमाइरहेका छन् ।

चाडबाडको बेलामा झनै धेरै जोखिम छ । टाढाटाढाबाट भाइटीका लगाउन पुगेका दिदीबहिनी वा दाजुभाइको माध्यमबाट पुरै परिवारलाई नै कोरोना संक्रमण हुनसक्छ । टीका लगाउँदा पनि जनस्वास्थ्यका मापदण्ड परिपालना गर्न अत्यन्त आवश्यक देखिन्छ । पछिल्लो समय नेपालीहरु बेफिक्री भएर हिँडेका छन् । कोरोनाले मुलुकलाई कति च्यापेको थियो, उनीहरुले बिर्सिएका छन् ।

कोरोनालाई हल्का रुपमा लिएका छन् । न मुखमा मास्क छ न सामाजिक दुरीको पालना । पटकपटक हात धुने र स्यानिटाइजर दल्ने क्रम पनि रोकिएको छ । मठमन्दिर, सार्वजनिक सवारी साधन, सिनेमाघर, व्यापारिक मल, चिडियाखाना, दोहोरी साँझ, डान्सबार, अस्पताल, संग्रहालयमा एकदमै भीड छ । अस्पतालमा समेत कोरोना मापदण्डको परिपालना हुन सकेको छैन् ।

कोरोना हटिसकेको छैन्, जोखिम कायम छ, हेलचेक््रयाइ नगरौं भनेर स्वास्थ्य मन्त्रालयले खबरदारी गरेको छैन् । डेंगुतिर अल्झिएको सरकारले पनि कोरोना बिर्सिएको छ । सरकारले डेंगुडेंगु भनिरहँदा कोरोनाले चाँहि उग्र रुप लिन्छ जस्तो छ । यता, हाम्रो छिमेकी मुलुकमा समेत कोरोना संक्रमण ह्वात्तै बढेको छ । तापनि सरकारले त्यताबाट नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गरेको छैन् ।

जसले गर्दा कोरोना संक्रमित नेपालमा पनि बढ्ने अड्कलबाजी लगाउन थालिएको छ । २०७६ चैत ११ गते एक जनामा संक्रमण देखिँदा सरकारले मुलुकभर लकडाउन गर्यो । यता, २०७८ वैशाख १६ गतेदेखि पुनः पनि लकडाउनको घोषणा गरियो । कडा प्रतिबन्धको बाबजुत पनि १२ हजार बढी नेपालीले ज्यान गुमाए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ओमिक्रोनको सव भेरिएन्टसमेत फेला परेको छ ।

मन्त्रालय भेट्यो मात्र भन्छ तर यसबाट बच्नका निम्ति कडा नियम लागू गर्दैन् । सरकारले जनताको स्वास्थ्यभन्दा पनि करलाई माथि राखेको छ । जनता मरे नि मरोस्, हामीलाई कर चाहिन्छ भनेर सबै व्यवसाय छाडा छोडिदिएको छ । जनताको ज्यान सरकारको लागि ख्यालख्याल भयो । सरकारले बेलैमा सचेतना नअप्नाउदा यत्रो नेपालीले अकालमा ज्यान गुमाए । अलिकति कडाइ देखाएको भए कोरोना नियन्त्रण पनि सम्भव थियो । कोरोना लागेर जनताहरु भकाभक मर्दा पनि कसैलाई केही फरक परेन् । सरकारलाई कर र राजनीतिक दललाई भोट भए पुग्यो । कोरोना लागेर मर्नेप्रति कसैले समवेदनासमेत देखाएनन् । सरकारले मर्नेको आफन्तलाई क्षतिपूर्तिसमेत दिएन् । नेताहरु बिरामी हुँदा जनताले तिरेको करबाट विदेशमा उपचार गर्न जान्छन् । सरकारी कर्मचारीहरु त्यहीबाट तलबभत्ता र सेवासुविधा लिन्छन् ।

तर, कर तिर्ने जनता भने मरेको मप्यै । न बिरामी हुँदा सरकारले उपचार गरिदिन्छ न मरेपछि क्षतिपूर्ति नै पाँउछन् । यहाँले कर तिर्नेभन्दा पनि तिरेको करबाट सेवासुविधा लिने ठूला र मान्यगन्य भएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय कोरोना चेकजाँचमा कमी गरेको छ । कोरोना जाँच एकदमै न्यून छ । कडाइका साथ चेक गर्ने हो भने कोरोना संक्रमित गनिसाध्य लाग्दैन् । दिनहुँ कोरोना लागेको तथ्याङ्क भने मन्त्रालयले सार्वजनिक गरिरहेको छ । तर, यसलाई कसरी नियन्त्रण गर्ने ? कसरी निर्मल पार्ने ? भनेर मन्त्रालय लागि परेका छैन् । १२ हजार नेपाली मार्ने स्वास्थ्य मन्त्रालय नै हो । सरकारी कार्यालयमा समेत चर्को भीडभाड हुन्छ । सरकारकै कर्मचारीले त सरकारको निर्णय मान्दैनन् भने अरुले के टेर्छन् । बैंक फाइनेन्समा पनि उत्तिकै भीड छ ।

नेपालका लापरवाह नेताहरुले समेत कोरोना बढाउन मद्दत पुर्यारहेका छन् । सत्तारुढ होस् या विपक्षी दल मास्क नै नलगाइकन कार्यक्रममा पुग्छन् । यता, उनीहरुको भाषण सुन्न आएका जनताले समेत जनस्वास्थ्य मापदण्डको पालना गरेको पाँइदैन् । गैरजिम्मेवार नेता र सरकारी कर्मचारीबाट सर्वसाधारण वर्गले के सिक्ने ? विद्यालय, कलेजमा पनि उस्तै छ । कोरोना नियन्त्रण गर्न सरकारले बनाएको मापदण्ड पालना गर्नुपर्छ भनेर अभिभावकले सिकाएका छैनन् ।
विद्यार्थीले त मास्क लगाएनन् तर शिक्षकहरु पनि निस्फिक्री भएर पढाइरहेका हुन्छ । शिक्षक हरुले पनि जनस्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सार्वजनिक सवारी साधनमा जहिले पनि भीड हुन्छ । न यात्रुको मुखमा मास्क हुन्छ न चालक, सहचालकको । कानून कार्यान्वयन गर्ने ट्राफिक प्रहरीहरुले समेत मापदण्डलाई थिचोमिचो गर्छन् । व्यापारीलाई कमाउन पाए भयो ।

आफु पनि मास्क लगाउँदैनन्, सामान किन्न आउने ग्राहकलाई मास्क लगाउनुपर्छ भनेर पनि सम्झाउँदैनन् । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले त मुखमा मास्क लगाउन छोडे, दुरी पालना गर्न छोडे, जसको सिको सर्वसाधारणले सिके । चुनाव नजिकिएसंगै नेताहरु व्यस्त भएका छन् । जनता भेला गरेर भाषण ठोकेर हिँडेका छन् । तर, भोट माग्ने क्रममा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ भन्नेतिर कसैको अलिकति पनि चासो छैन् । आफ्नो फाइदाका निम्ति सिधासाधी जनतालाई मृत्युको मुखमा पुर्याउने काम भइरहेको छ । भीडभाडमा नजानुस्, दुरी पालना गर्नुस्, मास्क लगाउनुहोस् भनेर सचेतनासमेत जगाउन नसक्ने मन्त्रालय किन चाहियो ? एउटा सूचना त निकाल्न नसक्ने मन्त्रालय खारेज गरिदिए पनि हुन्छ । स्वास्थ्य मन्त्रालयका कर्मचारी कहाँबाट कमिशन आँउछ भनेर ढुकेर बस्छन् । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले जनताको ख्याल गर्नुपर्दैन् ?

स्वास्थ्यमन्त्री र मन्त्रालयका कर्मचारी पनि सेवासुविधाको भोगी मात्र भए । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने अनि भ्रष्ट्राचार गर्ने । जनताको स्वास्थ्य राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न सकेन् । जनता आफै जिम्मेवार हुनुपर्छ । आफैले आफ्नो स्वास्थ्यको ख्याल नगर्ने हो भने अकालमा ज्यान गुमाउनुपर्छ । सरकारले निःशुल्क कोरोना चेकजाँच गर्ने व्यवस्था मिलाएको छैन् ।

पैसा तिरेर कोरोना जाँच्नुपर्ने भएपछि बरु कोरोना पालेरै बस्छन् । एक जना संक्रमित भएपछि पुरै घरपरिवार र टोलमा संक्रमण सर्छ । कोरोना शुरु भएपछि हात मिलाउने कार्य बन्देज भएको थियो । सबैले नमस्कार गरेर आदरसत्कार गर्थे । अहिले फेरिपनि हात मिलाउन कार्य शुरु भएको छ । कोरोना लागेर जसले आफन्त गुमायो, उसलाई कोरोना के हो ? राम्ररी थाहा छ ।

यता, कोरोना लागेर अस्पतालको बाँस काटिसकेकाहरु पनि सचेत भएर बस्छन् । कोरोना लागेर निको हुनु भनेको मृत्युको मुखबाट फर्किनुसरह हो । तर, जसले कोरोना खेपेको छैन्, उसलाई यो केही होइन् जस्तो महशुस भएको छ । कोरोना लागेर मरेको जनता फर्किएर आँउदैनन् । कोरोना फैलाएर जनता मार्ने काम सरकारले नै गरिरहेको छ । कोरोनाको जोखिम अझै पनि कायम छ भनेर सञ्चारमाध्यमहरुले लेख्न छोडिसकेका छन् ।

कोरोनाको विषयमा बोल्ने काम ठप्पझैं भइसकेको छ । सरकारले नै छाडा छोडिसकेपछि जनताहरु पनि सबै बिर्सिएर हिँडेका छन् । सबै आआफ्नो काम, व्यापार व्यवसायमा फर्किएका छन् तर मापदण्ड पालना गरिकन । कि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्यो कि दैनिक कोरोनाको विवरण निकाल्ने काम रोकिदिनुपर्यो । कोरोना नियन्त्रण गर्न चासो नदेखाउने अनि आतंक फैलाउने ?

कोरोनाको नाममा बजेट छुट्याउने अनि सामानमा कमिशन खाने मात्र हो स्वास्थ्य मन्त्रालयको काम ? कुन सामानमा कुन व्यापारीले कति कमिशन दिन्छन् ? भनेर मन्त्रालयका कर्मचारीहरु दौडिएका छन् । कोरोना महामारी पनि सरकारी कर्मचारीलाई कमाउने थलो बन्यो । जनताले तिरेको करमा मन्त्रालयका कर्मचारीको रजगज चलेको छ । कोरोना उपचार गर्ने पैसा नभएर जनता मरिरहेका छन् । स्वास्थ्य मन्त्रालयलाई प्रश्न,‘सामान किनेर कमिशन खाएर बस्ने कि जनता पनि बचाउने ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर