धरानमा सयपत्री फूलको कारोबार उच्च,दुई करोडको कारोबार — OSNepal

धरानमा सयपत्री फूलको कारोबार उच्च,दुई करोडको कारोबार

LC (KTM) October 26, 2022 0

धरान-तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ ।

यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पुज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ । लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो ।

पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट रु दुई लाख तयारी माला ल्याइएका थिए । नेपाली फूलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैया परेको उनले बताए । भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए ।

“यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो । तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ ।” व्यवस्थापक भट्टराईले भने । उनका अनुसार गतवर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो । भारतीय फूल न्यून आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ । भारतबाट पनि धेरै फूल भित्रिएको उनको भनाइ छ । आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री सङ्ख्या अझै बढ्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर