नवौँ राष्ट्रिय खेलकुद : सेपाकताक्रो ‘रेगु इभेन्ट’ महिलातर्फको स्वर्ण आर्मीलाई — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : सेपाकताक्रो ‘रेगु इभेन्ट’ महिलातर्फको स्वर्ण आर्मीलाई

LC (KTM) October 17, 2022 0

बर्दघाट- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपुरमा जारी सेपाकताक्रो प्रतियोगिताअन्तर्गत ‘रेगु इभेन्ट’ (एक समूहमा तीन खेलाडी सहभागी हुने खेल) महिलातर्फ नेपाल आर्मी विजयी भएको छ । जिल्लाको कावासोतीमा रहेको योङस्टार क्लबको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै आर्मीले स्वर्ण पदक प्राप्त गरेको हो । उपविजेता गण्डकीले रजत प्राप्त गर्दा बागमतीले कास्य पदक प्राप्त गरेको छ । बागमतीले सुदूरपश्चिमलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्य पदक प्राप्त गरेको हो ।

यता सेपाकताक्रो ‘रेगु इभेन्ट’ पुरुषतर्फ नेपाल आर्मी र गण्डकी भिड्ने भएका छन् । आर्मीले लुम्बिनीलाई २–० को सोझो सेट र गण्डकीले प्रदेश १ लाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलयात्रा तय गरेका हुन् । स्वर्ण पदकका लागि आर्मी र गण्डकी खेलको समापनका दिन भिड्ने भएका छन् ।

यसैगरी कास्य पदकका लागि लुम्बिनी र प्रदेश १ बीच भएको खेलमा प्रदेश १ ले लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै कास्य पदक आफ्नो पोल्टामा पारेको छ । नवलपुरमा जारी सेपाताक्रो खेल प्रतियोगितामा नेपाली आर्मीसहित प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रतिस्पर्धामा रहेका छन् । सेपाकताक्रोको तीन इभेन्टमध्ये डबलको हिजै फाइनल सकिएको छ । अब आजबाटै ‘क्वाड इभेन्ट’ (एक समूहमा चार खेलाडी सहभागी हुने खेल)अन्तर्गतका खेल सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर