नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा एपिएफ सेमिफाइनलमा — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा एपिएफ सेमिफाइनलमा

LC (KTM) October 17, 2022 0

कास्की-सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गोस्तेघाट फुटबल मैदानमा आज भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । एपिएफसँग पराजित भएपछि बागमती भने प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा अग्रता भने बागमतीले बनाएको थियो तर उसले सुरुआती अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाउनुभयो । खेलको ६५औँ मिनेटमा एपिएफका प्रदीप लामाले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । खेलको ७६औँ मिनेटमा नवीन लामाको गोलमार्फत एपिएफले अग्रता बनायो । लामाले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गरेपछि एपिएफको जित सुनिश्चित भएको हो ।

यसैगरी आजको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा समूह ‘सी’ अन्तर्गत भएको खेलमा पुलिसले ४–१ गोलअन्तरले लुम्बिनी प्रदेशलाई हराएको हो । पुलिसको जितमा कुलदीप कार्कीले दुई गोल गर्नुभयो भने आशिष श्रेष्ठ र बुद्धबल तामाङले समान एक–एक गोल गर्नुभयो । लुम्बिनीका लागि फागुराम थारूले एक गोल फर्काउनुभयो । पुलिस र लुम्बिनी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस समूहबाट नेपाली सेना शीर्षस्थानमा रहँदै सेमिफाइनमा प्रवेश गरिसकेको छ ।

पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपिएफ रहेका छन् । त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर