काठमाडौं, ३१ असोज:सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ ।
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो गोलसँगै एपीएफले ३–१ को जित सुनिश्चित गर्यो ।यस अघि नेपाल पुलिसलाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
गण्डकीका अमृतलाई स्क्वासमा स्वर्ण पदक:गण्डकी प्रदेशको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा सोमबार एक स्वर्ण पदक जितेको छ । पोखरा रंगशाला परिसरस्थित स्क्वास हलमा सोमबार सम्पन्न पुरुष खुल्लाको फाइनलमा गण्डकीका अमृत थापा मगरले पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै बागमतीका अरहन्तकेशर सिंहलाई ३–२ को नतिजामा पराजित गरे ।
अरहन्तकेशरले रजत पदक हात पार्दा सेमिफाइनलमा पराजित भएका गण्डकीका दीपक तथा र बागमतीका अमिर भ्लोनले कांस्य पदकमा चित्त बुझाए । सेमिफाइनलमा अमृतले दीपकलाई ३–१ तथा अन्तले भ्लोनलाई ३० को सोझो सेटमा हराएका थिए ।नवौं वृहत् राष्ट्रिय खेलकुदअन्तर्गत स्क्वासमा पुरुष र महिला खुल्ला तथा पुरुष टिम इभेन्ट्स गरी तीन स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।
महिला खुल्लामा सात खेलाडीको मात्र सहभागिता रहेकाले प्रतिस्पर्धीलाई दुई समूहमा विभाजन गरी राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गराइरहिएको छ ।
समूह ‘ए’ बाट कृष्णा थापा र भावना सुनुवार तथा समूह ‘बी’बाट बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनल पुग्ने चारै खेलाडीको कांस्य पदक पक्का भइसकेको छ । फाइनल पुग्नका लागि कृष्णाले स्वस्थानी तथा बिपनाले भावनासँग प्रतिस्पर्धा गर्नेछन् ।पुरुष टिम इभेन्ट्सतर्फ प्रारम्भिक चरणका खेलहरू भइरहेका छन् । स्क्वासको बाँकी दुई स्पर्धामा स्वर्ण पदकको छिनोफानो बिहीबार गर्ने तालिका छ ।