स्याङ्जा,१३ असार- चितुवाको आक्रमणमा परेर स्याङ्जाको् गल्याङ नगरपालिका–७ का ३८ वर्षीय लालबहादुर विक घाइते हुनुभएको छ । स्थानीय खड्कबहादुर गाहाको बंगुरको खोरमा पसेको चितुवाले बंगुरका तीन वटा पाठापाठी मार्नाका साथै मानिसलाई समेत घाइते बनाएपछि वन कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बंगुरको खोरमा पसेको चितुवाले मान्छेलाई समेत आक्रमण गर्न थालेपछि थप क्षति नहोस् भनेर चितुवालाई गोली हानेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
घाइते विक गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको र गोली लागेर मृ त्यु भएको चितुवालाई वन कार्यालयका कर्मचारीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । (रासस)