गण्डकी-पर्यटकीय नगरी पोखराले सञ्चालन गर्ने हरित यातायात प्रणाली विकास परियोजनालाई कोरियाले सहयोग गर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा महानगर र कोरियाका विज्ञको टोलीबीच यहाँ भएको छलफलमा उक्त सहमति भएको हो ।परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाइएको छ ।
कोरियन टोलीले यस क्षेत्रको सार्वजनिक यातायात र रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्यन किमले जानकारी दिनुभयो । “परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गरिने छ”, उहाँले भन्नुभयो,“यस्तै तीन स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।” जसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने टोली प्रमुख किले बताउनुभयो । पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तारसमेत गरिने परियोजनाको लक्ष्य छ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायाता व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरण सन् २०३० सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना प्रविधि पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारी साधनहरुको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने दुई पक्षबीच सहमति भएको छ । टोलीका अनुसार परियोजनाको अन्त्यसम्ममा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने विश्वास लिइएको छ । सम्झौता अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारेमा हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । यात्रुलाई लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्पmत पोखरामा बातावरणमैत्री यातायात प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नुको साथै बसको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने बताउनुभयो । उहाँले कार्वन उत्सर्जन न्यूनीकरणका साथै सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने उहाँको विश्वास छ ।